ड्रागन बोट रेसको उपाधि चीनको सिचुवानलाई, नेपाल टिम दोस्रो

-


     क्लिक गण्डकी     
     असार ९ गते २०८० मा प्रकाशित


ड्रागन बोट रेसको उपाधि चीनको सिचुवानलाई, नेपाल टिम दोस्रो

ड्रागन बोट रेसको उपाधि चीनको सिचुवानलाई, नेपाल टिम दोस्रो

पोखरा, ९ असार/ ड्रागन बोट रेस प्रतिस्पर्धामा चीनको सिचुवान ड्रागन बोट टिमले उपाधि जितेको छ । शनिबार पोखराको फेवातालमा सम्पन्न २ सय र ५ सय मिटर दुवै तर्फको उपाधि सिचुवान टिमले हात पारेको हो । उपाधि जितेको सिचुवान टिमले २ सय र ५ सय मिटर दुवै विधामा प्रथम हुँदै ५ लाख ५० हजार रुपैयाँका दरले ११ लाख रुपैयाँ जितेको छ । प्रतियोगितामा सहभागी ८ वटै टिमलाई एक एक लाख रुपैयाँ पनि दिइएको थियो ।

प्रतियोगितामा नेपाली टिमले पहिलो सहभागीतामै दोस्रो उपाधि जितेको छ । ४ नेपाली टिम सहभागी प्रतिस्पर्धामा नेपालको नारा ड्रागन बोट टिम २ सय र ५ सय मिटिर दुवै विधामा दोस्रो हुँदै ३ लाख ५० हजार नेपाली रुपैयाँका दरले ७ लाख र सहभागी टिमलाई दिइने १ लाख सहित ८ लाख हात पारेको छ ।

दक्षिण एशियामै पहिलो पटक नेपालको पोखरामा भएको चीनको २ हजार वर्ष पुरानो पर्व अन्तर्गतका ड्रागन बोट रेसमा चीनको युनान ड्रागन बोट टिमले दुवै विधामा तेस्रो हुँदै २ लाखका दरले ४ लाख नेपाली रुपैयाँ जितेको छ । प्रतियोगितामा नेपाल टिम एनआरसीए चौथो भएको थियो ।

प्रतियोगितामा नेपाल र चीनका ४/४ वटा गरी ८ टिम सहभागी भएका थिए । विजयी खेलाडीहरुलाई राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, नेपालका लागि चिनियाँ राजदूत छन् छोङ, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङले पुरस्कार हस्तान्तरण गरेको थिए ।

चीनबाट ड्रागन बोट रेसकालागि ल्याइएका चिनियाँ डुंगा पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । चिनियाँ सस्कृतिको आधारमा बनेका नेपाली परम्परागत भन्दा फरक खाले डुंगा चीन सरकारले पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको हो । ड्रागन मुखाकृति भएको डुंगा आकर्षक रहेका छन् । चिनियाँहरुको महत्वपूर्ण चार पर्व मध्येको एक ड्रागन बोट रेस यस वर्ष देखि पोखरामा मनाउन सुरु गरिएको हो ।

महोत्सवमा र प्रतिस्पर्धामा सहभागी हुन चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको ए ३१९ जहाजबाट बुधबार चार्टड फ्लाईटमा खेलाडी, दुई वटा प्रान्तका नगरप्रमुख, उपप्रमुख, कलाकार लगायत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका थिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको पहिलो विमानस्थल यही चार्टड विमान हो ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले ड्रागन बोट रेस महोत्सवले सस्कृतिको माध्यमबाट दुई देशको सम्बन्ध थप मजबुत हुने बताए । महोत्सवकै लागि चिनियाँ जहाज पहिलो पटक पोखरा अन्तर्राष्ट्रय विमानस्थमाल पहिलोपटक अन्तर्राष्ट्रिय उडान भएर आएको बताउँदै नियमीत अन्तर्राष्ट्रय उडानकालागि सरकारले पर्यटक आकर्षण गर्ने नयाँ नयाँ कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।

पर्यटन राज्यमन्त्री सुशिला सिर्पाली ठुकरी ड्रागन बोट रेसमै सहभागी हुन चार्टड विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएसंगै अन्तर्राष्ट्रिय उडानकालागि ढोका खुलेको बताइन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्लबाट छिट्टै नै नियमीत अन्तर्राष्ट्रिय उडान हुने पनि उनले बताइन् ।

नेपालकालागि चिनियाँ राजदूत छन् छोङले ड्रागन बोट रेस आगामी वर्ष पनि हुने भन्दै अर्को वर्ष फेरि भटौला भनेका थिए । चीन सरकरले चिनबाट ल्याइएका डुंगा चीन सरकराले पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको बताउँदै प्रत्येक वर्ष ड्रागन रेस फेस्टिभल पोखरामा आयोजना गरिने पोखरा महानगरपालिकाका मेयर मेयर धनराज आचार्यले बताए ।



Tags: