
जिल्ला प्रहरी कार्यालय कास्की
कास्की, १ मंसिर/ पोखरा ६ लेकसाइडमा देउसीभैलो हेर्ने क्रममा झैझगडा गरेर कुटपिटमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले ९ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको जनाएको छ ।
कात्तिक २५ गते राति करिब २ बजे पोखरा महानगरपालिका–६ लेकसाइडस्थित ‘लेबल क्लब’ अगाडि देउसीभैलो खेलेको हेर्ने क्रममा युवाहरूबिच विवाद पछि कुटपिट भएको थियो । घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले संलग्नहरूको पहिचान गरेर खोजी सुरु गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रामजी देवकोटाले जानकारी दिए ।
उनीहरूलाई कात्तिक ३० गते नियन्त्रणमा लिइएको उनले बताए । पक्राउ पर्नेहरूमा कास्कीको रुपा गाउँपालिका–७ घर भई पोखरा–१२ माटेपानी बस्ने ३० वर्षीय अरुण थापा, धादिङ घर भई हाल पोखरा–११ बस्ने २८ वर्षीय आशिष मगर, कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ स्थायी भई हाल पोखरा–१९ लामचौर बस्ने २४ वर्षीय सन्दीप गुरुङ र मोरङको लेटाङ नगरपालिका–१ स्थायी ठेगाना भई हाल पोखरा–१६ दीप बस्ने २३ वर्षीय मनिष राई रहेका छन् ।
त्यस्तै पर्वतको मोदी गाउँपालिका–४ स्थायी भई हाल पोखरा–१९ लामाचौर बस्ने २० वर्षीय अभिषेक गर्भुजा, म्याग्दीको रघुगंगा गाउँपालिका–७ स्थायी भई हाल पोखरा–११ फूलबारी बस्ने २८ वर्षीय प्रभात पुन, रघुगंगा–७ घर भई पोखरा–१९ लामाचौर बस्ने २३ वर्षीय प्रसन गर्भुजा, २३ वर्षीय एनिस थापा र २४ वर्षीय सुन्दर पुनलाई नियन्त्रणमा लिएको उनको भनाई थियो । पक्राउ परेका सबैलाई वडा प्रहरी कार्यालय बैदाममा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







