
पोखरामा देउसी–भैलो खेल्ने क्रममा झैझगडा गर्ने १४ जना प्रहरी नियन्त्रणमा
पोखरा, २८ कात्तिक/ पोखरामा देउसी–भैलो खेल्ने क्रममा दुई समूहबीच झैझगडा हुँदा १४ जना प्रहरी नियन्त्रणमा लिएको छ ।
सामाजिक सञ्जालमा देउसी–भैलो खेल्ने क्रममा झैझगडा तथा कुटपिट भएको दृश्य सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाबारे अनुसन्धान थालेको थियो।
कात्तिक २६ गते साँझ पोखरा महानगरपालिका–२ बागलुङ बसपार्कस्थित दुई समूहबीच देउसी–भैलो खेल्ने क्रममा सामूहिक रूपमा झैझगडा भएको थियो। उक्त घटनामा एक जना व्यक्ति घाइते भएका थिए। घाइतेको फिस्टेल अस्पतालमा उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न व्यक्तिहरूको खोजतलास गर्ने क्रममा एक जना महिला र १३ जना पुरुष गरी १४ जनालाई वडा प्रहरी कार्यालय बगरको नियन्त्रणमा लिइएको हो।
प्रहरीले घटनाबारे थप अनुसन्धान तथा आवश्यक कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।







