
एमालेको पदाधिकारी बन्न गण्डकीका ६ जनाको दौडधुप, केन्द्रीय सदस्यलागि कास्कीबाट को को
पोखरा, २५ मंसिर/ नेकपा एमालेको महाधिवेशन नजिकिदै गर्दा गण्डकी प्रदेशबाट एमालेको केन्द्रीय पदाधिकारी एबम केन्द्रीय समितिको सदस्यमा प्रतिनिधित्व गर्न चाहनेहरुले नाम सार्वजनीक गर्न थालेका छन् ।
गण्डकी प्रदेशबाट नेतृत्वमा दाबी पेस गर्नेमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ रहेका छन् । उनले पार्टीको महत्वपूर्ण पद महासचिवको लागि आँफुलाई प्रस्तुत गरेको भएपनि सहज भने देखिएको छैन । महासचिबको लागि प्रदिप ज्ञवाली समेत आकांक्षी भएकोले गुरुङ उपाध्यक्षमा जानुपर्ने अबस्था आउन सक्ने एमालेहरु बताउ छन् ।
गण्डकी प्रदेशबाट वहालवाला सचिव पद्मा अर्यालले उपमहासचिवको लागि आँफुलाई अगाडी बढाएकी छन् । अर्यालले गण्डकीबाट महिला नेतृत्वको प्रतिनिधित्व गर्दै पदाधिकारीमा आफ्नो सिट सुरक्षित गर्न लबिङ तीव्र पारेकी छन् ।
यसैगरी गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी पनि यसपटक पदाधिकारीमा सुरक्षित हुन चाहेका छन् । गुरुङले उपाध्यक्ष वा सचिब र अधिकारीले सचिव बन्ने आकांक्षा देखाएका छन् । सचिव पदका लागि गण्डकीबाट पूर्वमन्त्री जगत विश्वकर्मा र पर्वतका युवा नेता पदम गिरीको पनि चर्चा छ ।
पदाधिकारीमा जस्तै केन्द्रीय सदस्यमा पनि गण्डकीबाट ठूलो संख्या उमेदवार बन्ने देखिएको छ । गण्डकीबाट बहालवाला करिब ४० जना केन्द्रीय सदस्य दोहोरिने मुडमा रहेकाले नयाँ अनुहारका लागि केन्द्रीय कमिटीमा प्रवेश पाउनु चुनौतीपूर्ण रहेको छ ।
कास्की जिल्लाबाट पनि एमालेको केन्द्रीय सदस्य बन्न करिब एक दर्जन नेताहरुको दौडधुप शुरु भएको छ । कास्की जिल्लाबाट केन्द्रीय समितिको सदस्य रहेका कृष्ण थापा, चुडामणि जंगली, मिना गुरुङ, भिम कार्की, राजिब पहारी, प्रभा कोइराला, मन्जु गुरुङले यस पटक पनि केन्द्रीय सदस्य बन्ने चाहनालाई तिब्र पारेका छन् ।
त्यसै गरी नयाँको रुपमा प्रतिनिधित्व गर्ने दौडमा रुपा गाउँपालिकामा दुई पटक अध्यक्ष भएका नवराज ओझा, रश्मी आचार्य, सिर्जना शर्मा, तेजनारायण अधिकारी र रुद्र खत्री, पुष्पज्योती ढुंगाना, दामोदर बैरागी र मनबहादुर गुरुङ रहेका छन् ।





