
पोखरामा दोस्रो माछापुच्छे गल्फ प्रतियोगिता शनिबारदेखि
पोखरा, ३ मंसिर/ पोखरामा दोस्रो संस्करणको माछापुच्छे गल्फ प्रतियोगिता आगामी शनिबार र आइतबार आयोजना हुदै छ । प्रतियोगितामा अमेरिका, बेलायत, भारत, भुटान सहित पोखरा, काठमाडौं, धपरानलगायत विभिन्न स्थानका गल्फर सहभागीता जनाउने बिहीबार पोखरा आयोजीत पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ ।
हिमालयन गल्फ कोर्स तथा हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट प्रालिको संयुक्त आयोजनामा हुने प्रतियोगितामा करिब ७० जना खेलाडीले सहभागिता जनाउने हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट प्रालिका अध्यक्ष भुवन गुरुङले जानकारी दिए ।
प्रतियोगिता स्टेबलफोर्ड ३र४ ह्यान्डिक्यापमा खेलाइनेछ। पार ७० को कोर्समा दुई दिन ३६ होल खेल हुनेछ।
प्रतियोगितामा ग्रस विजेता, विभिन्न ह्यान्डिक्याप समूह, महिला, सिनियर, लङ्गेस्ट ड्राइभ, क्लोजेस्ट टु द पिनलगायत विधामा पुरस्कार प्रदान गरिनेछ। ग्रस विजेताले नगद २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्। विभिन्न डिभिजनका विजेतालाई २० हजार र उपविजेतालाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए ।
महिला विजेताले १५ हजार र उपविजेताले १० हजार, सिनियर विजेताले १५ हजार तथा लङ्गेस्ट ड्राइभ र क्लोजेस्ट टु द पिन विजेताले पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन्। होल इन वानका लागि विशेष पुरस्कार समेत व्यवस्था गरिएको छ।







