पोखरा–दुबई उडानबाट ५४ दिनमा १४ हजारभन्दा बढी यात्रु यात्रा गरे

-


     क्लिक गण्डकी     
     मंसिर ४ गते २०८३ मा प्रकाशित


दुबई–पोखरा–दुबई उडान दोस्रो दिन पनि, यात्रु उत्साहजनक

दुबई–पोखरा–दुबई उडान

पोखरा, ३ मंसिर/ फ्लाई दुबईको पोखरा–दुबई नियमित उडानबाट ५४ दिनको अवधिमा १४ हजार २ सय ६९ यात्रुले यात्रा गरेका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांकअनुसार सेप्टेम्बर २३ देखि नोभेम्बर १५ सम्म दुबईबाट पोखरा ८ हजार ७ सय ५६ यात्रु आएका छन् भने पोखराबाट दुबई ५ हजार ५ सय १३ यात्रु बाहिरिएका छन्। दुवैतर्फको यात्रु संख्यामा शिशु यात्रु समेत समावेश छन्।

यस अवधिमा पोखरा आउने यात्रुको संख्या दुबई जानेभन्दा ३ हजार २ सय ४३ बढी रहेको छ। यसले पोखरा–दुबई उडानमा आगमनतर्फ यात्रुको चाप बढी रहेको देखाएको छ।

मौसम प्रतिकूलताका कारण सेप्टेम्बर २५ मा एक दिन उडान रद्द भएको थियो। त्यसबाहेक ५३ दिन नियमित उडान सञ्चालन भएको विमानस्थलको विवरणमा उल्लेख छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएपछि दुबईसँगको हवाई सम्पर्कले पोखराको पर्यटन तथा अन्तर्राष्ट्रिय आवागमनलाई थप सहज बनाएको छ। नियमित उडानमार्फत यात्रु आवागमन बढ्दै जाँदा पोखराको पर्यटन क्षेत्रले पनि लाभ लिन सक्ने अपेक्षा गरिएको छ।