
Balloon Festival 2024 at Pokhara
पोखरा, ९ पुस/ पर्यटकीय नगरी पोखरामा आजबाट अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ । ९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा एकै पटक १३ वटा हटएर बेलुन पोखराको आकाशमा उडेका छन् । महोत्सवमा अमेरिका, स्पेन, लिथुवानिया, थाइल्यान्ड, भियतनाम लगायत विभिन्न देशको प्रतिनिधित्व छ ।
पर्यटकिया राजधानी पोखरामा मंगलबार देखी अन्तराष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ । बेलुन नेपाल र पोखरा पर्यटन परिषदको आयोजना र फेवा युवा क्लबको स्थानीय व्यवस्थपनमा पोखरा २३ र २४ को पामे क्षेत्रमा हटएर बेलुन महोत्सव भएको हो । ९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा दैनिक आकाशको उच्च उचाइमा बेलुनहरु पुग्ने छन् ।
अन्तर्राष्ट्रिय बेलुन फेस्टिभलमा संयुक्त राज्य अमेरिका, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम लगायत विश्वका विभिन्न देशको प्रतिनिधित्व गरेका छन् । ४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिम श्रृङ्खलासहित माछापुच्छ्रे र धौलागिरीका साथै पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिने छ । साथै सूर्योदय र सूर्यास्तका दृश्य पर्यटकलाई लोभ्याएको छ ।
महोत्सव अवधिभर पोखराका स्थानीय सांगितिक ब्याण्डका साथै दिपक बज्राचार्य एण्ड टिम, राजु लामा एण्ड मङ्गोलियन हार्ट, एलिना चौहान, कुमा सागर एण्ड ख्वपः ब्याण्ड जस्ता शीर्ष नेपाली कलाकारको सांगीतिक प्रस्तुति दैनिक रुपमा हुने छन् । महोत्सव अवधिमा बिहान ६ देखि ९ बजे र बेलुकी ४ देखि ६ बजेसम्म बेलुन उडान हुनेछ ।
चिसो मौसममा बेलुन उडान सहज हुने भएकोले बिहानी र बेलुकीको समय उपयुक्त हुने गर्दछ । महोत्सवले पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुका साथै साहसिक पर्यटनलाई अगाडि बढाउने लक्ष्य राखेको छ । महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटकलाई पनि आकर्षित गर्न सफल हुने आयोजकको दावी छ ।
बेलुनमा सयर गर्दा नेपालीले प्रतिव्यक्ति ११ हजार शुल्क तिनुपर्छ । त्यस्तै सार्क मुलुक र चीनका पर्यटकले प्रतिव्यक्ति १ सय २० र अरु मुलुकका विदेशीले १ सय ५० अमेरिकी डलर शुल्क तिर्नुपर्छ । बेलुनको उचाईमा पुगेपछि उत्तरतर्फको हिमाली श्रृंखला, पोखरा सहर, फेवाताल सहितका फेवातालको सिरान क्षेत्रको पञ्चासे क्षेत्र समेत अवलोकन गर्न पाइने छ ।
सन् १९७२ मा अमेरिकाबाट सुरु भएको अल्बुकर्क इन्टरनेशनल बेलुन फेस्टिबल अहिले विश्वभर विभिन्न देशमा आयोजना हुने गर्दछ । न्यू मेक्सिकोमा वार्षिक रूपमा आयोजना हुने यो बेलुन फेस्टिबलमा ५०० वटा बेलुन उडाउने गरिन्छ । हरेक वर्ष करिब १० लाखभन्दा बढी पर्यटक यो फेस्टिबलमा सहभागी हुने गर्छन् । सन् २०१५ मा स्थापना भएको बेलुन नेपालले सन् २०१७ देखि पोखरामा व्यावसायिक बेलुन उडान सञ्चालन गर्दै आएको छ ।




