
पोखरामा ५० करोड लगानीमा ‘क्लब भोल्कानो’ निर्माण हुँदै
पोखरा, ६ मंसिर / पोखराको लेकसाइडमा करिब ५० करोड रुपैयाँको लगानीमा ‘क्लब भोल्कानो’ निर्माण सुरु भएको छ। काठमाडौंमा रात्रिकालीन मनोरञ्जन व्यवसाय सञ्चालन गर्दै आएको व्यवसायी समूहले पोखरामा मनोरञ्जन, खानपान र सपिङलाई एकै ठाउँमा समेट्ने गरी परियोजना अघि बढाएको हो।
विशाल अर्बन भेन्चर्सको लगानीमा निर्माण हुन लागेको भोल्कानो कम्प्लेक्सलाई क्लब, रेस्टुरेन्ट, फुड कोर्ट, स्पा, रूफटप रेस्टुरेन्ट तथा बालबालिकाका लागि खेल्ने क्षेत्रसहितको एकीकृत मनोरञ्जन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
परियोजनाको निर्माण पोखरामा भूमिपूजा गरी सुरु गरिएको हो। व्यवसायी विशाल श्रेष्ठ, विशाल थापा र विशाल तुलाचनको संयुक्त लगानीमा निर्माण हुन लागेको परियोजना एक वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ।
विशाल अर्बन भेन्चर्सका अध्यक्ष विशाल श्रेष्ठले पोखरामा अन्तर्राष्ट्रिय स्तरको प्रिमियम क्लब सञ्चालन गर्ने उद्देश्यले परियोजना अघि बढाइएको बताए। पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी पारिवारिक वातावरणमा मनोरञ्जन तथा आतिथ्य सेवा उपलब्ध गराइने उनले बताए।
भोल्कानो कम्प्लेक्समा फुड प्लाजा, विभिन्न कपडा ब्रान्डका पसल, कफी सप, स्वागत कक्ष तथा रूफटप रेस्टुरेन्टलगायत सुविधा रहनेछन्। एउटै परिसरमा खानपान, सपिङ र मनोरञ्जनको अनुभव उपलब्ध गराउने गरी पूर्वाधार निर्माण गर्न लागिएको श्रेष्ठले बताए।
लेकसाइड स्ट्रिट नम्बर १० नजिक निर्माण हुन लागेको परियोजना १७ वर्षका लागि जग्गा भाडामा लिएर सञ्चालन गर्ने तयारी गरिएको छ। अन्तर्राष्ट्रिय स्तरका क्लब तथा मनोरञ्जन स्थलको अवधारणालाई पोखरामा भित्र्याउने उद्देश्यले सिंगापुर, भियतनाम, थाइल्यान्ड र स्पेनलगायत देशका क्लबहरूको डिजाइन तथा संरचनाको अध्ययन गरिएको उनले बताए।
क्लब भोल्कानो सञ्चालनमा आएपछि करिब १२० जनाले प्रत्यक्ष रोजगारी पाउने परियोजनाका अध्यक्ष श्रेष्ठले जानकारी दिए। निर्माण सम्पन्न भएपछि पोखराको मनोरञ्जन तथा आतिथ्य क्षेत्रमा नयाँ गन्तव्य थपिने अपेक्षा गरिएको छ।








