महानगरका २८० सुन्तला कृषकलाई २५ लाख बराबरको अनुदान प्रदान

-


     क्लिक गण्डकी     
     असार ३२ गते २०८१ मा प्रकाशित


सुन्तला

सुन्तला

पोखरा ३१, असार/ पोखरा महानगरपालिकाले सुन्तला कृषकहरूलाई अनुदान प्रदान गरेको छ । नगर प्रमुख धनराज आचार्यले किसानहरूलाई सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन कार्यक्रम अन्तर्गत नगद २५ लाख रुपैया बराबरको अनुदान प्रदान गर्नुभएको हो ।

नगरप्रमुख आचार्यले कृषकहरूलाई व्यवसायीकरण गर्दै उत्पादन वृद्धि र पेसाप्रतिको आकर्षण बढाउनका लागि महानगरपालिकाको तर्फबाट अनुदान सहायता प्रदान गरिएको बताउनुभयो । उहाँका अनुसार वडा स्तरमा सुन्तलाको पकेट कार्यक्रम सञ्चालन गरी कृषकहरूलाई व्यवसायीकरण र उत्पादन वृद्धिमा महानगरले जोड दिएको बताउनुभयो ।

महानगरको आर्थिक विकास महाशाखा प्रमुख प्रमुख मनोहर कडरियाले सुन्तला कृषकहरूलाई महानगरपालिकाले विगत पाँच वर्षदेखि अनुदान उपलब्ध गराउँदै आएको बताउनुभयो । ताकिएको मापदण्ड अनुसार किसानबाट प्राप्त निवेदनका आधारमा प्राविधिक टोलीको स्थलगत अनुगमन पश्चात् योग्य कृषकहरूलाई अनुदान प्रदान गरिएको कडरियाले जानकारी दिनुभयो ।

पोखरा महानगरपालिकाको कृस्ती, निर्मलपोखरी, खाल्टे, मासपाटन, फेदीपाटन लगायत स्थानका दुई सय ८० किसानलाई अनुदान प्रदान गरिएको छ । महानगरपालिकाले सुन्तला बगैँचा व्यवस्थापनका लागि विभिन्न मापदण्ड बनाइ प्रतिबोट अधिकतम एक सय ५० का दरले १० हजार ६ सय ५२ बोटका लागि अनुदान वितरण गरेको हो ।

अनुदान प्राप्त गर्न प्रत्येक बोटमा एक सय किलो प्राङ्गारिक मल अनिवार्य राख्न ५०, बोडो पेस्ट गरेबापत ४०, बोडो मिक्स्चर स्प्रेबापत ३० र बोटको वरपर बाक्लो छापो लगाएबापत ३० गरी एक सय ५० प्रदान गरिएको हो ।

सुन्तलालाई असिनाको प्रभाव कम गर्न आर्थिक वर्ष २०८१।०८२ मा महानगरपालिकाले ७ं प्रतिशत अनुदानमा जाली उपलब्ध गराउने छ ।



Tags: