बझाङ केन्द्रविन्दु बनाएर भूकम्प, केही घर भत्किए, केही घाइते

-


     क्लिक गण्डकी     
     असाेज १६ गते २०८० मा प्रकाशित


भूकम्प

भूकम्प

धनगढी, १६ असोज/ बझाङ केन्द्रविन्दु बनाएर मंगलबार गएको भूकम्पले केही घर भत्किएका छन् भने केही घाइते भएका छन् । भूकम्पका कारण सुदूरपश्चिमका जिल्लाहरूमा धक्का महसुस भएको छ । बझाङमा ६ जना र अछाममा एक जना घाइते भएका छन् ।

बझाङमा सत्यवादी मावि भोपुरका चार विद्यार्थीसहित पाँच जना र केदारस्युँ गाउँपालिकाका एक जना गरी छ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई बझाङ जिल्ला अस्पतालमा लगिएको छ ।

अछाममा विद्यालयको भवनबाट हामफाल्दा एक विद्यार्थी घाइते भएका हुन् । विद्यार्थीको स्थानीय गोडा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । अछाममा पनि विद्यालयका भवनहरू चर्किएका छन् ।

क्षति विवरण संकलन भइरहेको प्रहरीले जानकारी दिएको छ । सदरमुकामका पक्की घरहरू चर्किएका छन् । गाउँका कच्ची घर तथा विद्यालयहरू भत्किएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङको जयपृथ्वी नगरपालिका केन्द्रबिन्दू बनाएर दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टरको भूकम्प गएको थियो ।

त्यसको २६ मिनेटपछि सोही क्षेत्र केन्द्रबिन्दू बनाएर ६ दशमलव ३ रेक्टरको भूकम्प गएको जनाएको छ ।



Tags: