
सिएनएनको घुम्नैपर्ने विश्वका उत्कृष्ट २३ पर्यटकीय स्थलको सूचीमा मुस्ताङ
पोखरा, ३१ बैशाख/ अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सिएनएनले विश्वका घुम्नैपर्ने २३ उत्कृष्ट स्थानमा मुस्ताङ परेको छ । सिएनएनले शनिबार प्रकाशित गरेको सामग्रीमा भ्रमणमा निस्कन चाहनेले घुम्नैपर्ने सूचीमा नेपाललाई समावेश गरेको छ ।
कोभिड अघिको तुलनामा ८० प्रतिशत हाराहारीमा घुम्न निस्कनेहरूको संख्या विश्वव्यापी रूपमा बढिरहेको सिएनएनले उल्लेख गरेको छ । मुस्ताङलाई चिनाउँदै सिएनएनले माउन्टेन ट्रेकिङको लागि प्रसिद्ध परौणिककालीन पदमार्ग समेत भएको उलल्ख गरेको छ ।
मुस्ताङमा छिट्टै ‘सिन्तामणि’ रिसोर्ट खुल्न लागेकाले पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा गरिएको छ । परम्परागत तिब्बतीयन घरको झल्को दिने यस रिसोर्टमा २९ वटा स्वीट रूम रहेको छ । सिएनएनले मुस्ताङ पुग्ने पर्यटकलाई मानव निर्मित गुफाको भ्रमण नछुट्याउन समेत सुझाव दिएको छ ।
सिएनएनकाअनुसार मुस्ताङ उपत्यका पुग्नु साहसिक यात्रा हुनेछ ।काठमाडौंदेखि पोखरासम्म २५ मिनेट उडान र पोखरादेखि जोमसोमसम्मको २० मिनेट उडान गरेर त्यहाँ पुग्न सकिन्छ । त्यस्तै काठमाडौंदेखि सडकमार्ग हुँदै १२ घण्टामा पुग्न सकिने सिएनएनले उल्लेख गरेको छ ।
सिएनएनले छानेका अन्य २२ पर्यटकीय स्थलमा रूवाण्डा, गोटेनबर्ग स्वीडेन, पोल्याण्ड, लिभरपुल इंल्याण्ड, पश्चिमी अष्ट्रेलिया, चाल्सटोर्न दक्षिण क्यारोलिया, भिल्नियस लिथुआनिया, फिजी, मानौस ब्राजिल, थेसालोनिकी ग्रीस रहेका छन् ।
त्यस्तै, रस अल खैमाह संयुक्त अरब इमिरेट्स, लाओस, स्वीट्जरल्याण्ड, मिनियापोलिस मिनेसोटा, बोगोटा कोलम्बिया, तान्जानिया, कायरो इजिप्ट, नावसिमा जापान, बेलिज, ओसाका मेक्सिको, ओटावा क्यानडा र युगान्डा परेका छन्।





