
पोखरा र मुस्ताङको पर्यटकीय साझेदारीमा जोड
मुस्ताङ, २६ फागुन/ पर्यटन व्यवसायी महिला संघ नेपाल(टेवान) द्वारा मुस्ताङमा आयोजित स्थलगत भ्रमण, अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा पोखरा र मुस्ताङ बीचको पर्यटकीय साझेदारी आवश्यक रहेकोमा जोड दिइएको छ ।
मुस्ताङका लागि पर्यटकको मुख्य प्रस्थानविन्दु पोखरा रहेको भन्दै कार्यक्रमका वक्ताले पर्यटकीय रुपमा पोखराबाट मुस्ताङ र मुस्ताङबाट पोखरा एकआपसमा लाभान्वित हुँदै आएको बताए ।
जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङले पोखराबाट मुस्ताङ पर्यटकीय रुपमा लाभान्वित बन्दै आएको बताउँदै साझेदारीका माध्यमबाट दुबै स्थानका पर्यटकीय गतिविधि बढाउनुपर्नेमा जोड दिनुभयो । “मुस्ताङका स्थानीयवासी ʿअतिथि देवो भवःʾ को मन्त्रलाई सदैब आत्मसात गर्दै आएका छन्”, उहाले भन्नुभयो,”प्राकृतिक, धार्मिक एवम् सांस्कृतिक रुपमा मुस्ताङ महत्वपूर्ण पर्यटकीय गन्तव्य हो ।”
पर्यटकीय विकाससँगै मुस्ताङका स्थानीयवासी उत्पादनसँग पनि जोडिने अभियान सुरु गरिएको बताउँदै उहाँले यहाँ उत्पादित अन्न, स्याउ लगायतका फलफुल आदिको प्रशोधन गर्ने काय पनि सुरु गरिएको बताउनुभयो । घरपझोङ गाउँपालिकाका प्रमुख मोहनसिंह लालचनले यस क्षेत्रको पर्यटकीय प्रवद्र्धनका लागि पोखराको सहयोग आवश्यक रहेको बताउनुभयो । प्राकृतिक सौन्दर्यतासँगै धार्मिक एवम् सांस्कृतिक रुपमा यहाँको महत्व रहेको बताउँदै उहाँले पर्यटन लक्षित योजनालाई अघि बढाउन लागिएको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले मुस्ताङ गण्डकी प्रदेशको गहना भएको बताउँदै यो धार्मिक पर्यटनको विशिष्ट गन्तव्य रहेको उल्लेख गर्नुभयो । बौद्ध धर्मगुरु पद्मसम्भवले यहीँबाट बौद्ध धर्मको प्रचारप्रसार गरी त्यसले विश्वव्यापी स्थान लिएपनि हामीहरूले त्यसको प्रचारप्रसार गर्न नसकेको उहाँले बताउनुभयो । विभिन्न सांस्कृतिक मेला तथा महोत्सव पनि मुस्ताङको मौलिकता भएको भन्दै उहाँले यसको प्रवद्र्धन जरुरी रहेको बताउनुभयो ।
“मुस्ताङको दीगो पर्यटकीय विकासका लागि यहाँका ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक महत्वका सम्पदा जोगाउनु आवश्यक छ”, उहाँले भन्नुभयो । पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन आइसकेका अवस्थामा मुस्ताङका उत्पादनलाई विश्व बजारमा पु¥याउने गरी लाग्नुपर्ने बताउनुभयो । टेवानका अध्यक्ष कमला गिरीले पोखरा र मुस्ताङको पर्यटकीय सम्बन्ध बढाउनकै लागि मुस्ताङमा प्रवद्र्धनात्मक कार्यक्रम ल्याइएको बताउनुभयो ।
कार्यक्रमकै अवसरमा मुस्ताङका युवा तथा महिला पर्यटन व्यवसायीलाई लक्षित गरी क्षमता अभिबृद्धि एवम् डिजिटल मार्केटिङ तालिम आयोजना गरिएको बताउँदै उहाँले यसबाट अधिकतम फाइदा लिन आग्रह गर्नुभयो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले पर्यटनको विकासका लागि उत्पादन, प्रवद्र्धन र बजारीकरण आवश्यक भएको बताउनुभयो । मुस्ताङका मौलिक संस्कार र संस्कृतिको प्रवद्र्धन जरुरी रहेको बताउँदै उहाँले पर्यटकका बसाई अवधि लम्ब्याउनका लागि पूर्वाधार विकासलाई पनि जोड दिनुपर्ने बताउनुभयो ।
“मुस्ताङमा हिन्दु तथा बौद्ध दुबै धर्मावलम्बी पर्यटक तान्न सकिने विविधतायुक्त स्थान हो, यसलाई लक्षित गरी प्रवद्र्धनमा जोड दिनु आवश्यक छ”, उहाँले भन्नुभयो । घरपझोङ गाउँपालिकाका उपाध्यक्ष जमुना थापा थकालीले पोखरा र मुस्ताङको पर्यटकीय साझोदारीले दुबैलाई अधिकतम फाइदा पुग्ने बताउँदै त्यसका लागि एकआपसमा सहकार्य र समन्वय आवश्यक भएको बताउनुभयो । कार्यक्रम संयोजक शोभा अधिकारी पौडेलले प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत पर्यटन व्यवसायी, सञ्चारकर्मी सहितको टोलीले शुक्रबार नेपाल चीनबीचको कोरला नाका पुगी फर्कने कार्यक्रम रहेको जानकारी गराउनुभयो ।





