
पोखरामा भएको तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई, राज गुरुङ ‘ लाला ’ र म्याराथन धावक अर्जुन गोदार सम्मानित
पोखरा, २५ असोज/ तेस्रो पर्वतीय दौड प्रतियोगिताको उपाधि नरेन्द्रसिंह रावतले जितेका छन् । पोखरा–२२, पुम्दी–भुम्दीमा शनिबार आयोजित उक्त प्रतियोगितामा निर्धारित ८ किमी दूरी उनले ३४ः३५ः८८ मिनेटमा पूरा गर्दै उपाधिसहित नगद ५० हजार, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । सुदूरपश्चिमका रावत गत वर्ष पनि च्याम्पियन बनेका थिए ।
यसैगरी, गौतम श्रेष्ठ दोस्रो र निरज भट्ट क्षेत्री तेस्रो भए । श्रेष्ठले निर्धारित दूरी ३५ः१६ः१९ मिनेटमा पूरा गर्दा क्षेत्रीले ३५ः२९ः०१ मिनेट समय लगाए । उनीहरुले क्रमशः ३० र १५ हजार साथमा मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा धीरजबहादुर बुढा चौथो र सरोज कुँवर पाँचौं हुँदै क्रमशः ७ र ३ हजार नगदसहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । छैटौंदेखि दशौंसम्म महेन्द्रबहादुर बुढाथोकी, श्रीकेश राई, पृथ्वीलाल राई, महेन्द्र घर्तीमगर र आशीष कुँवर पर्न सफल भए । उनीहरुले जनही १ हजार, मेडल र प्रमाणपत्र पाए ।
महिलातर्फ दीर्पा बस्नेत प्रथम हुन सफल भइन् । उनले निर्धारित ८ किमी दूरी ४८ः१३ः४६ मिनेटमा पूरा गर्दै नगद १५ हजार प्राप्त गरिन् । दोरपता कठायतले ५०ः२०ः४३ मिनेट र मीनु बुढाले ५१ः१३ः२१ मिनेट लगाउँदै क्रमशः दोस्रो र तेस्रोको पुरस्कार प्राप्त गरे । सोही इभेन्टमा सिमरन थापा र संजिला राई चौथो र पाँचौं भए ।
यू–१६ तर्फ कमल बिक प्रथम, मुलुक सिंह खत्री दोस्रो र सक्षम बोहोरा क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । बिकले ४०ः००ः४२ मिनेटमा दुरी पार गर्दा खत्रीले ४०ः०८ः८६ मा दुरी पार गरे । सुशान्त विक्रम तिवारी चौथो र सफल खड्का पाँचौ बने । पोखरा २२ वडाअन्तर्गत क्रिशल परियार प्रथम भए । उनले ४३ः४५ः०२ मिनेटमा दुरी पार गर्नुभयो । सुयन बिकले ४८ः०६ः५७ सेकेण्डमा दुरी पार गरी दोश्रो भए । कमल पौडेल, पुष्पराज बराल र सुजल परियार क्रमशः तेश्रो देखि पाँचौं भए ।
भेट्रान्सतर्फ तेजबहादुर गुरुङ प्रथम हुन सफल भए । उनले निर्धारित दुरी ४६ः३०ः५१ मिनेटमा पार गर्दा किशोर थापा दोस्रो भए । थापाले ४८ः५७ः०४ मिनेटमा उक्त दुरी पार गरे । कमल गुरुङ तेस्रो, अनुप केसी चौथो र योगप्रसाद गुरुङ पाँचौ. बने ।
विदेशी धावकतर्फ फ्रान्सका माथियस डियोन प्रथम, रसियाका अलेकजेण्डर दोस्रो भए ।
डियोनले ४६ः२४ मिनेटमा र अलेकजेण्डरले उक्त दुरी ५४ः१३ः१८ मिनेटमा पार गरे । माइखाइलो तेस्रो भए । खुलाबाहेक बाँकी विधामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः १५, १० र ७ हजार साथमा मेडल र प्रमाणपत्र पुरस्कार दिइएको थियो । पोखरा प्रबद्र्धन केन्द्र र पोखरा क्लिकद्वारा विश्व पर्यटन दिवस सन्दर्भमा आयोजित उक्त दौड विश्व शान्ति स्तूपदेखि विशाल महादेवको मूर्ति, वडा कार्यालय हुँदै बुद्ध पार्क पुगेर समापन भएको हो ।
विजयीलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा २२ का वडाअध्यक्ष हिमलाल बराल, महानगरका प्रमुख प्रशासकिय अधिकृत, राजन पौडेल, गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका उपसचिव टंक प्रसाद ढकाल, सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीका शसस्त्र प्रहरी नायव महानिरिक्षक (डिआईजी) प्रवीण कँडेल, पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष शोभा गौतम, पर्यटन बोर्डका वरिष्ठ कार्यक्रम अधिकृत युवराज गुरुङ, पोखरा महानगरका आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरिया, पोखरा पर्यटन परिषद् अध्यक्ष हरि भुजेल, परिषद्का पूर्व अध्यक्ष एवं पोखरा भ्रमण वर्ष–२०२५ का संयोजक गोपीबहादुर भट्टराई, नाट्टा गण्डकीका अध्यक्ष संगीता पौडेल, टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्य, होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी, पुम्दीकोट कोट विकास समितिका अध्यक्ष तथा उद्योगपति चन्द्रकान्त बराल, होम स्टे महासंघ नेपालका उपाध्यक्ष प्रकाश गुरुङ, हिमश्री फुड्स प्रा.लि.का प्रशासन प्रमुख बम बराल लगायतले पुरस्कार वितरण गरे ।
सो अवसरमा पुम्दीभुम्दीको पर्यटन प्रवद्र्धन र स्थानीय क्षेत्रको विकासमा योगदान दिएका राज गुरुङ ‘ लाला ’ र म्याराथन धावक अर्जुन गोदारलाई सम्मान गरिएको थियो । गुरुङ कालाबाङ घरेडी बुद्ध पार्कका परिकल्पनाकार तथा कालाबाङ घरेडी बुद्ध पार्क विकास संस्थाका संस्थापक अध्यक्ष समेत हुन् । अघिल्ला संस्करणमा पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बराल, विश्वशान्ति स्तूप समितिका अध्यक्ष अशोक गुरुङ, हिमाल आरोही तथा साहसिक पर्यटन क्षेत्रका व्यक्तित्व ले.लि. कुसाङ गुरुङ र वसन्त गौतमलाई सम्मान गरिएको थियो ।
समापन समारोहका प्रमुख अतिथि मेयर आचार्यले पर्यटकीय राजधानी पोखराको खेलकुद तथा पर्यटन विकासमा यसप्रकारका इभेन्टले सघाउ पुग्ने भन्दै महानगरले पनि सहयोग गर्दै जाने बताए । उक्त कार्यक्रम कम्तिमा ५ बर्षसम्म क्यालेण्डरमै फिक्स गर्न आयोजकलाई सुझाव दिनुभयो ।
त्यसअघि, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले विश्व शान्ति स्तूपमा आयोजित उद्घाटन समारोहमा दौडको उद्घाटन गरेकी थिइन् । कार्यक्रममा बोल्दै उनले यस्ता प्रतियोगिताले गाउँ पर्यटन र खेल पर्यटनको प्रबद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । उक्त अवसरमा कीर्तिमानी धावक तथा ओलम्पियन बैकुण्ठ मानन्धर सहितका अतिथिको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्कुलले ऐतिहासिक व्यक्तित्व सागमा तीन स्वर्ण विजेता एवं ओलम्पियन बैकुन्ठ मानन्धर र करातेका उदयीमान खेलाडी तथा करातेमार्फत सानै उमेरमा वल्र्ड बुक अफ रेकर्ड राख्न सफल आर्यन रंजितद्वयलाई नगदसहित सम्मान गरेको हो ।
प्रतियोगिता संयोजक दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत आयोजक केन्द्रका उपाध्यक्ष असफल गौतम र संचालन पर्यटनविज्ञ दीपेन्द्र पहारीले गरे । ‘खेल पर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नारालाई आत्मसात् गर्दै आयोजकले विश्व पर्यटन दिवस सन्दर्भ पारेर प्रतियोगितालाई निरन्तरता दिएको हो ।
नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवद्र्धन गरेको प्रतियोगितामा प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय र पोखरा महानगरपालिका वडा नम्बर २२ को सहकार्य रहेको थियो । प्रतियोगिताको मेडिकल पार्टनरमा नेलम्बो नेपाल, हस्पिटल पार्टनरमा मेडि प्लस एण्ड ट्रमा सेन्टर, इन्स्योरेन्स पार्टनरमा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड, हस्पिटालिटी पार्टनरमा म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्स, अफिसियल टेलिभिजनमा पोखरा टेलिभिजन रहेको थियो । आधिकारिक ड्रिङ्किङ वाटरमा ग्लेज स्प्रिङ वाटर हो ।
यसैबिच, गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, अन्तराष्ट्रिय म्याराथन धावक ल.रि. कुसाङ गुरुङ, परिचय एड्भरटाइजिङ, राष्ट्रिय खेलकुद परिषद्, अटो वेज प्रा.लि., हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउ, शुभ अधिकारी ट्राभल्स, सिटिजन फर्निचर, चिकेन प्वाइन्ट, वडा युवा परिषद्, विश्व शान्ति स्तूप समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्ध पार्क समिति, एनएस भिल्ला पोखरा २२ कालाबाङ घरेडी सहित विभिन्न व्यवसायी तथा संघसंस्थाको सहयोग रहेको केन्द्रका सचिव सागर सुनारले बताए । कार्यक्रममा शसस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीको पन्चे बाजेले आगन्तुक धावकलाई स्वागत गरिएको थियो भने विहान मौसम खुलेसंगै स्थानियले समेत ठाँउ ठाँउमा धावकलाई भव्य स्वागत गरेको वडा यूवा परिषद पोखरा २२ का अध्यक्ष दिनेश बरालले बताए ।







