
पोखरा स्कुल बस दुर्घटना, ५ जनाको मृत्यु
पोखरा, २३ असोज/ पोखरा २८ मा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन भएको छ । पोखरा महानगर पालिकाले वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको हो ।
समितिको सदस्यमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई रहेका छन् ।
पोखरा महानगरपालिका–२८ माझठाना सौरेबाट कालिकातर्फ आउँदै गरेको कालिका बोर्डिङ स्कुलको बस शुक्रबार दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
शुक्रबार बिहान करिब ७ः४० बजे ग २ ख १४१७ नम्बरको बस पोखरा २८ ओख्लेको भिरमा दुर्घटना हुँदा चार विद्यार्थी र एक व्यक्ति सहित पाँच जनाको मृत्यु भएको थियो ।
दुर्घटनाको कारण पत्ता लगाउनुका साथै आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन अवलम्बन गर्नुपर्ने उपाय र सुझाव सहित पाँच दिनभित्र प्रतिवेदन पेस गर्ने समितिलाई कार्यादेश छ ।







