
दुबई–पोखरा–दुबई उडान दोस्रो दिन पनि, यात्रु उत्साहजनक
पोखरा, ८ असोज/ फ्लाई दुबईले बुधबार देखी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गरेको छ । दोस्रो दिन पनि दुबई–पोखराबाट पोखरा आउने यात्रु १ सय २५ जना रहेको र पोखरा–दुबईका लागि १ सय ४५ जनाले यात्रा गरेका छन् ।
करिब तीन बर्षअघि संचालनमा आएको विमानस्थलबाट फ्लाई दुबईले, दुबई–पोखरा–दुबई रुटमा नियमित उडान थालेको हो । दुबईबाट पहिलो दिन १ सय १३ जना लिएर उडेको जहाज पोखराबाट १५२ जना यात्रु लिएर दुबई उडेको थियो ।
फ्लाई दुबईको ७३७ र म्याक्स ऐट, म्याक्स नाईनले पोखरा–दुबई उडान गरेको हो । जहाजमा १ सय ३८ देखि १ सय ८९ सम्म यात्रु क्षमता रहेको कम्पनीको दावी छ । फ्लाई दुबईको हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र ७ः१५ बजे पोखरादेखि दुबईका लागि प्रस्थानको तालिका रहेको छ । फ्लाई दुबईले सन् २०२७ को मार्च २६ अर्थात ६ महिनका लागि टिकट बुकिङ खुला गरेको छ ।
पोखरा आइपुग्दा पहिलो दिन फ्लाई दुबईको विमानलाई पोखरा विमानस्थलमा पानीको फोहोराले स्वागत गरेको थियो । सीधा हवाई उडानलाई लक्षित गरी पोखराका होटल तथा रेष्टुराँ व्यवसायीले छुट योजना ल्याएका छन् ।
अन्तरदेशीय उडानमा यात्रु तथा पर्यटकलाई आकर्षित गर्न होटल÷रेष्टुराँमा छुट सुविधा दिइएको छ । पहिलो तीन महिनाका लागि फ्लाई दुबईबाट आउने यात्रु/पर्यटकलाई पोखराका होटलमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।
रेष्टुराँ एण्ड बार एसोसिएसन, पोखराले पनि फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई संस्थामा आबद्ध रेष्टुराँहरुमा १५ देखि २० प्रतिशतसम्म छुट दिइने जनाएको छ । ‘रेवान’का अध्यक्ष वसन्त गौतमले फ्लाई दुबईको ‘बोडिङ पास’ लिएर आउने यात्रु÷पर्यटकलाई छुटको सुविधा दिइने बताए । लामो प्रतीक्षापछि पोखराबाट नियमित अन्तरदेशीय उडान हुदाँ यस क्षेत्रका पर्यटन व्यवसायी लगायत उत्साहित छन् ।







