
फिर्केखोलामा डोजर अभियानबाट १०५ संरचनाहरु भत्काइए
पोखरा, ५ असोज/ पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र निर्माण भएका बाँकी संरचना हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई ७ दिनको अन्तिम म्याद दिएको छ ।
महानगरले सोमबार सूचना जारी गर्दै अँधेरीकुना देखि फेवातालसम्म बग्ने करिब ८ किलोमिटर लामो फिर्केखोलाको खोलाघरभित्र निर्माण भएका सबै संरचना हटाउन जारी गरेको छ । आफैं संरचना हटाउने प्रतिबद्धता जनाएका केही व्यक्ति तथा संस्थाका संरचना भने अझै बाँकी छन् ।
यसअघि प्रकाशित सूचना बमोजिम हालसम्म संरचना नहटाएका व्यक्ति वा संस्थालाई ७ दिनभित्र अनिवार्य रूपमा संरचना हटाउन महानगरपालिकाले अन्तिम पटक सूचना जारी गरेको उल्लेख छ ।
तोकिएको अवधिभित्र संरचना नहटाए महानगरपालिकाले प्रचलित कानूनबमोजिम आफैं संरचना हटाउने र त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाट असुलउपर गर्ने जनाएको छ ।
खोलाको बहाव क्षेत्रमा रहेका १ सय ६० वटा संरचनामध्ये अझै ५८ वटा संरचना पूर्ण रूपमा भत्काउन बाँकी रहेका छन् । तीमध्ये २९ वटा संरचना घरधनी आफैँले भत्काउन सुरु गरेका छन् भने २२ वटामा कुनै काम भएको छैन । फिर्केखोलाका संरचना हटाएर करिडोर बनाउने योजना महानगरको छ ।







