
स्याङ्जाको गल्याङमा जीप दुर्घटना, २ जनाको मृत्यु, १७ जना घाइते
स्याङ्जा, ८ भदौ/ स्याङ्जाको गल्याङ नगरपालिका ८ करादीमा सोमबार साँझ बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । गल्याङबाट वडा नम्बर ९ साङलिया तर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको जीप उकालो घुम्तीमा नियन्त्रण गुमाएर सडकबाट खसेको हो ।
दुर्घटनामा गल्याङ ८ की २५ वर्षकी निशा पचभैया र गल्याङ ९ का ६० वर्षका यमबहादुर विकको मृत्यु भएको छ । जीपमा सवार चालक सहित १७ जना घाइते भएका छन् । दुर्घटना लगत्तै स्थानीय र प्रहरीले घाइतेको उद्धार गरेका थिए ।
घाइतेमध्ये वसन्ती विश्वकर्मा र देवी विकको अवस्था गम्भीर छ । उनीहरूलाई थप उपचारका लागि पाल्पास्थित मिसन अस्पताल पाइएको छ । अन्य १५ जना घाइतेको गल्याङ नगर अस्पतालमा उपचार भइरहेको छ ।
नगर अस्पतालमा उपचार गराइरहेका घाइतेहरूमा जीप चालक दीपक विक, बोमा खनाल, सगुन विक, टोलबहादुर विक र असिसा पचभैया छन् ।
मेघनाथ खनाल, राधामाया राना, गंगा विश्वकर्मा, दुर्गा विक र यमकला खनालको पनि उपचार भइरहेको छ । घाइतेमध्ये स्नेहा परियार, सुप्रिया थापा, समिर विक, अरुणा गाहा र पार्वती विक भने उपचारपछि डिस्चार्ज भएका छन् ।





