पोखराका दुई प्रहरी कार्यालयका प्रमुख फेरिए, रामबजारमा पहिलो महिलाको नेतृत्व

-


     क्लिक गण्डकी     
     श्रावण १६ गते २०८३ मा प्रकाशित


पोखरा, १६ साउन/ पोखराका दुई महत्वपूर्ण प्रहरी कार्यालयका प्रमुख परिवर्तन भएका छन् । सरुवासँगै वडा प्रहरी कार्यालय रामबजारले पहिलो पटक महिला नेतृत्व पाउने भएको छ।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी नमराज भट्टराई प्रहरी प्रधान कार्यालयमा काज सरुवा भएका छन्। उनको स्थानमा डीएसपी सूर्यबहादुर बोगटी आउने भएका छन्।

त्यसैगरी वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक तेजप्रसाद कँडेलको काज सरुवा भएको छ। उनको स्थानमा प्रहरी निरीक्षक सरिता मगरलाई जिम्मेवारी दिइएको छ। रामबजार प्रहरी कार्यालयको पहिलो पटक महिला प्रहरी अधिकृतले नेतृत्व सम्हाल्न लागेको बताइएको छ।

नेपाल प्रहरीको पछिल्लो काज सरुवा अन्तर्गत डीएसपी मीन कुँवर, राजु लामा र नमराज भट्टराईलाई प्रहरी प्रधान कार्यालय पठाइएको छ भने डीएसपी जनक पुरीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा गरिएको छ।

त्यस्तै डीएसपी मदनजीत महरालाई काठमाडौंको बौद्ध वृत्त, पविन्द्र बमलाई अछाम, ओम खनाललाई धनुषा र ज्ञानबहादुर खड्कालाई भोजपुरमा जिम्मेवारी दिइएको छ। बौद्धका डीएसपी सन्तोष रोका भने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सरुवा भएका छन्।

इन्सपेक्टर तहमा पनि विभिन्न कार्यालयमा हेरफेर गरिएको छ। सरिता मगरलाई वडा प्रहरी कार्यालय रामबजार (कास्की), यशोदा घलेलाई प्रहरी प्रभाग बाँडेगाउँ (ललितपुर), मधुसुदन विश्वकर्मालाई इलाका प्रहरी कार्यालय गौशाला (महोत्तरी), सुरेन्द्रविक्रम बर्तौलालाई इलाका प्रहरी कार्यालय हरिवन (सर्लाही) र दीपक खरेललाई इलाका प्रहरी कार्यालय गोलबजारमा काज सरुवा गरिएको नेपाल प्रहरीले जनाएको छ।