हत्या गरी सुन लुट्ने र खरिद गर्ने दुई जना पक्राउ

-


     क्लिक गण्डकी     
     असार ३२ गते २०८३ मा प्रकाशित


शव

लमजुङ, ३२ असार/ लमजुङ प्रहरीले हत्या गरी सुनका गहना लुट्ने र ती गहना खरिद गर्ने दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बेँसीशहर नगरपालिका–८ तामाङडाँडा टोलका ७७ वर्षीय बृद्धि बहादुर बोहरा साउन २९ गते बिहान घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। परिवारले खोजी गर्दा नभेटिएपछि श्रीमती बालकुमारी बोहोराले प्रहरीमा खोजतलासका लागि निवेदन दिएकी थिइन्।

प्रहरी र आफन्तले खोजतलास गर्ने क्रममा साउन ३० गते बिहान बेँसीशहर नगरपालिका–१ आकाशेडाँडामाथिको सामुदायिक वनमा बोहराको शव फेला परेको थियो। शवको शरीर तथा अनुहारमा चोटपटक देखिएपछि प्रहरीले हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा घटनास्थलको वैज्ञानिक परीक्षण, विभिन्न स्थानका सीसीटीभी फुटेजको विश्लेषण तथा प्राविधिक प्रमाणका आधारमा बेँसीशहर–१ चण्डीटोलका ३० वर्षीय विजय तामाङ घटनामा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले उनलाई पक्राउ गरी सोधपुछ गर्दा उनले मृतकको सुनको सिक्री र औँठी लुटेको स्वीकार गरेका थिए।

प्रहरीका अनुसार तामाङले लुटिएका गहना चितवनको भरतपुर महानगरपालिका–२१ पार्वतीपुरस्थित एक सुनचाँदी पसलमा बिक्री गरेको खुल्न आएको छ। त्यसपछि प्रहरीले पसल सञ्चालक ४३ वर्षीय दीपक विश्वकर्मालाई पनि पक्राउ गरेको छ। प्रहरीले उक्त पसलबाट मृतकको सुनको सिक्री र औँठी बरामद गरेको जनाएको छ।

घटनामा प्रयोग भएको काठको दाउरा पनि बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका विजय तामाङ र दीपक विश्वकर्माविरुद्ध कर्तव्य ज्यान तथा डाँका चोरी सम्बन्धी कसुरमा जिल्ला अदालत लमजुङबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।