
महानगरकै ठूलो जलविद्युतः सेतीखोला हाईड्रोपावरबाट (२२ मेगावाट) विद्युत उत्पादन
पोखरा, २४ असार/ पोखरा महानगरपालिकाभित्रको सबैभन्दा ठूलो जलविद्युत परियोजनाबाट उत्पादित विजुली राष्ट्रिय प्रशारण लाईनमा जोडिएको छ ।
पोखरा ३३ मुसेटुँडास्थित सेतीखोला हाईड्रोपावर लिमिटेडको २२ मेगावाट जलविद्युत परियोजनाले सोमबारदेखि उत्पादन शुरु गरेको हो । सोमबार नेपाल विद्युत प्राधिकरणका प्राविधिकले अनुगमन र नियमनसँगै मिटरमा शिलबन्दी गरेपछि उत्पादन शुरु गरिएको हो । परियोजनाको औपचारिक उदघाटन भने आगामी शुक्रबार गरिने लिमिटेडले जनाएको छ ।
गत मंसिरमा सम्पन्न गर्ने योजनासहित काम अघि बढेपनि केही प्राविधिक कारणले विद्युत उत्पादनमा ढिलाई भएको कम्पनीले जनाएको छ । टावर निर्माणमा बन मन्त्रालयबाट स्वीकृति आउन भएको ढिलाईले विद्युत उत्पादन कम्पनीको लक्ष्यभन्दा छ महिना पछि धकेलिएको थियो ।
“सोमबार विद्युत प्राविधकरणका प्राविधिकले नियमन गर्नुभयो, मिटरमा शिलबन्दी गरेपछि उत्पादन शुरु भयो ।” लिमिटेडका निर्देशक दिपक बरालले भन्नुभयो—“अब पन्ध्रदिन विद्युत प्राविधकरणलाई विजुली उपलब्ध गराईने छ । त्यसपछि व्यवसायिक रुपमा जाने छौं ।” यो परियोजना पोखरा महानगरपालिकाको सबैभन्दा ठूलो जलविद्युत परियोजना हो ।
पोखरा महानगरपालिका वडा नं ३३ को तिकलाङ्गमा ड्याम निर्माण गरी साढे तीन किलोमिटर तल पोखरा ३३ स्थित पुँडीटारमा पावरहाउस निर्माण गरिएको छ ।
लिमिटेडले ०७९ मा जलविद्युत परियोजनाको शिलान्यास गरेको थियो । साढे तीन वर्षमा सक्ने लक्ष्य राखिएको छ । “भौतिक काम लगभग पुरा भएपनि केही प्राविधिक समस्याले उत्पादनमा ढिलाई हुन पुग्यो” उहाँले भन्नुभयो—“प्रशारण लाईनको लागि बन मन्त्रालयबाट स्वीकृति आउनै समस्या हुदाँ उत्पादनको समय लम्बियो । उहाँका अनुसार प्रशारण लाईन तान्ने काममा अडचन आएको थियो । बाधा अड्चन नभएको भए माघमै विद्युत उत्पादन गरेर राष्ट्रिय प्रशारण लाईनमा जोडिने योजनामा कम्पनी थियो ।
पोखरा ३३ तिकलाङ्गमा ड्याम छ । ड्यामबाट सुरङ मार्ग हुदैं पुँडीटारमा पेनस्टक पाईप मार्फत पानी पावरहावस पुर्याईएको छ । तीन हजार एकसय ६ मिटर लामो सुरुङ निर्माण गरिएको छ । “सुरुङ मार्ग बनाउने क्रममा केही ठाँउमा भूबनोट कमजोर भएकोले काममा केही अप्ठ्यारो अवस्था आएको उहाँको भनाई थियो । पावरहाउसमा ११ मेगावाटका दुईवटा टर्वाईन जडान गरिएको छ ।
लिमिटेडले उत्पादित विजुलीलाई दुईकिलोमिटर ट्रान्समिसन लाईन तानेर राष्ट्रिय प्रशारणलाईनमा जोड्ेको छ । दुुईकिलोमिटरको दुरीमा ५ वटा टावरमा तीनवटा जंगलमा परेको छ । “बातावरण संरक्षण पर्यावरण जोगाउने बनजंगल कटान गर्नुपर्ने स्थितिलाई सरकारले एकद्वार नीति अनुसार लगानीकर्तालाई लगानीको अवसरलाई सहजीकरण गर्नुपर्ने खाँचो छ ।” उहाँको भनाई थियो । “सरकारको एकद्वार नीति नहुदाँ लगानीकर्ताले अनेकथरीका झन्झट व्यहोर्नुपर्छ ।”
सेतीखोला हाईड्रोपावर(२२ मेगावाट)लाई वैदेशिक संस्था डोल्मा इम्प्याक्ट फण्डले लगानी गरेको छ । फण्ड मार्फत विदेशीसंस्था जापानीज संस्था जाईका, आईएमएफ, स्वेड फण्ड, ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट, डिएफसी तथा आईएफसी जस्ता कम्पनीले लगानी गरेको उहाँको भनाई थियो ।
विद्युत उत्पादनको अन्तिम तयारीमा रहेको लिमिटेडको लागत ५ अर्ब ५ करोड खर्च भएको छ । यद्यपी खर्च अझै बढ्ने अनुमान छ । कम्पनीले यसै वर्षभित्र सर्वसाधारणको लागि आईपियो निकाल्ने तयारी समेत गरिएको जनाएको छ ।





