
पोखरामा बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई नरोकी हिँडेको बस कारबाहीमा
पोखरा, २५ जेठ/ बौद्धिक अपाङ्गता भएका एक व्यक्तिलाई सार्वजनिक बसले नरोकी अघि बढेको घटनामा कास्की प्रहरीले सम्बन्धित सवारी साधनलाई कारबाही गरिएको छ।
पोखरा महानगरपालिका–३२, लेखनाथका एक बौद्धिक अपाङ्गता भएका व्यक्तिले सार्वजनिक सवारी साधन रोक्न खोज्दा बस नरोकी हिँडेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
उक्त व्यक्तिले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले भिडियो पोष्ट गरेका थिए। जिल्ला प्रहरी कार्यालय कास्कीले आवश्यक खोजतलास तथा कारबाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा पत्राचार गरेको थियो ।
ग २ ख २२५५ नम्बरको सार्वजनिक बसलाई नियन्त्रणमा लिई आवश्यक ट्राफिक जरिवाना गरिएको छ। चालक तथा सम्बन्धित पक्षलाई आगामी दिनमा अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिनुपर्ने विषयमा सम्झाइबुझाइ पठाएको प्रहरीले जनाएको छ ।
उक्त सवारी साधनका प्रतिनिधिले भविष्यमा यस्ता व्यक्तिहरूप्रति विशेष संवेदनशीलता अपनाउने प्रतिबद्धता जनाएपछि आवश्यक प्रक्रिया पूरा गरी सवारी साधन छाडिएको प्रहरीले जनाएको छ।





