
पोखराबाट काठमाडौं जादै गरेको रात्री बस दुर्घटना, १७ जनाको मृत्यु
पोखरा, ११ फागुन/ पोखराबाट काठमाडौं जादै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर २४ जना घाइते भएका छन् ।
राति करिब साढे १ बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसिगौडास्थित पृथ्वी राजमार्गमा ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशूली नदीको किनारमा खसी दुर्घटना भएको थियो ।
सडकबाट करिब ३ सय मिटर तल बस खसेको थियो । दुर्घटना हुदाँ बसमा ४६ जना यात्रुहरु रहेको अनुमान गरिएको छ ।
अन्यको खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट डुंगाको सहायताबाट यात्रुहरु ओसार्दै बगरमा जम्मा गर्ने र त्यहाँबाट एम्बुलेन्स मार्फत् अस्पतालतर्फ पठाउने काम भइरहेको छ ।
अहिले सम्म १३ पुरुष र ४ महिलाको शव भेटिएको छ । दुर्घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीले उद्धार गरिरहेका छन् ।





