
लिपुलेकबाट नेपाल पछाडि हटेको छैनः सञ्चारमन्त्री गुरुङ
पोखरा, ६ भदौ/ सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले लिपुलेक नेपालकै भूमि भएको बताएका छन् । लिपुलेकबाट नेपाल सरकार पछाडि नहटेको बताउदै कुट्नीति तबरले अगाडी बढ्ने बताए ।
पोखरामा प्रेस चौतारी कास्कीले गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले नेपालको भूमि भारतले उपयोग पनि गर्दै आएको बताए । नेपालको निषेधित क्षेत्रभित्र व्यापारका लागि करिडोर बनाउने बारे नेपालको चासोको विषय भएको उनले बताए ।
भारत र चीनले नेपालको भूमि लिपुलेकपासबाट व्यापार पुनः सुरु गर्ने सहमति गरेपछि फेरि एक पटक विवाद सतहमा आएको भन्दै उनले यस विषयमा परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट जारी गरेको बताए ।
मन्त्री गुरुङले सरकारले सामाजिक सञ्जाललाई नियन्त्रण नभई नियमन गर्न खोजेको दोहो¥याए । सामाजिक सञ्जालमा देखिने विकृति र विसंगति रोक्न ‘सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन विधेयक’ ल्याउन लागिएको उनको भनाइ थियो । “साइबर अपराध विश्वकै चुनौती हो, नेपालभित्र हुने यस्ता अपराध रोक्न सरकारले कानुन बनाउन लागेको हो,” उनले भने ।
मन्त्री गुरुङले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने विषयमा सत्ता गठबन्धनभित्र कुनै सहमति नभएको स्पष्ट पारे । उनले यो विषयमा चर्चा भए पनि त्यसले आधिकारिकता नपाएको बताए । उनले रास्वपा सरकारमा हुँदा राना उपसभामुख बनेको तर अहिले परिस्थिति फेरिएको उल्लेख गरे ।
आफ्नो मन्त्रालयको कार्ययोजनाबारे बोल्दै उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बन्धित सबै कानुनलाई समयसापेक्ष बनाउन संशोधनको तयारी भइरहेको जानकारी दिए ।





