
कास्कीका ४ वटा पर्यटकीय ग्रामिण रुटमा साँझ यातायात सञ्चालनमा रोक
पोखरा, २५ असार/ जिल्ला प्रशासन कार्यालय कास्की कास्कीका चार वटा ग्रामिण रुटमा साँझ यातायात सञ्चालनमा रोक लगाएको छ ।
असार २३ गते प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठकले कास्की चार वटा पर्यटकीय ग्रामिण रुटमा यातायात सञ्चालनमा रोक लगाएको हो । असार २५ गते देखी १५ दिनका लागि रोक लगाएको हो ।
प्रशासनले विरेठाँटी देखि घान्द्रुक, विरेठाँटी देखि उल्लेरी, लुम्ले देखि लान्द्रुक जाने सवारी साधनहरु साँझ ५ बजेभित्र प्रस्थान विन्दुबाट गन्तव्य स्थलको लागि छुटिसक्नुपर्ने निर्णय गरेको कास्की साहेक सिडियो शिव लम्सालले जानकारी दिए ।
घान्द्रुक देखि विरेठाँटी, उल्लेरी देखि विरेठाँटी र लान्द्रुक देखि लुम्ले जाने सवारी साधनहरु बिहान ५ बजेपछि प्रस्थानविन्दुबाट गन्तव्यस्थलको लागि छुट्न पाउने बताए ।
त्यसै गरी काँहुखोला देखि तातिङ जाने सवारी साधनहरु साँझ साढे ४ बजेभित्र प्रस्थानविन्दुबाट गन्तव्यस्थलको लागि छुटिसक्नुपर्ने बताए । तातिङ देखि काँहुखोला जाने सवारी साधनहरु बिहान ५ बजेपछि प्रस्थानविन्दुबाट गन्तव्यस्थलको लागि छुट्न पाउने छन् ।
बैठकमा जिल्ला समन्वय समिति प्रमुख, स्थानीय तहका प्रमुख तथा पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु, यातायात व्यवसायीहरु लगायतका सरोकारवाला निकायर संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको बसेको वैठकबाट भएको निर्णय भएको हो ।
वर्षको मनसुन सक्रिय अवस्थामा रहेकोले वर्षातको समयमा सुरक्षा संयमता अपनाउन र बाढी, पहिरोको कारणबाट यात्रु तथा सवारी साधनहरुमा हुनसक्ने सम्भाव्य क्षति न्यूनीकरणका लागि सतर्कता अपनाउन बैठकले निर्णय गरेको लम्सालले बताए ।





