
जिएमसीमा न्यूरो सर्जिकलको अत्याधुनिक आइसीयू थप, प्रा डा याम रोकाले थाले सर्जरी
पोखरा, १३ जेठ/ गण्डकी मेडिकल कलेज (जिएमसी), पोखराले न्यूरो क्रिटिकल केयरमा थप गरी सेवा सुरु गरेको छ । अस्पताल प्रशासनका अनुसार अत्याधुनिक सेवा प्रदान गर्न हालै १५ शैय्याको न्यूरो सर्जिकल आइसियू स्थापना गरिएको हो ।
योसँगै अब अस्पतालले गम्भीर प्रकृतिका न्यूरोसर्जिकल र न्यूरोलोजिकल बिरामीलाई उपचार एवं विशिष्ट सेवा गर्न सम्भव भएको अस्पतालले जनाएको छ ।
अस्पतालले वरिष्ठ न्यूरोसर्जन प्रा डा याम रोकालाई भित्राएसँगै २४ सैं घण्टा विशिष्ट सेवा प्रदान गर्न सुरु गरेको जनाएको छ ।
मस्तिष्कमा नसा फुटेर रगत जमेको, ट्युमर, ट्रमा, ढाड र घाँटीमा नसा च्यापिएका बिरामीले यहाँबाट उपचार पाइसकेका छन् ।
रोकाको नेतृत्वमा अस्पतालले २ महिनादेखि न्यूरोसर्जरी सेवा सुरु गरेको थियो । यस अवधिमा करिब २० वटा सफल शल्यक्रिया भइसकेका छन् ।
न्युरो सर्जरीमा राम्रो पहिचान बनाएका प्राडा यामबहादुर रोका मस्तिष्क र नशासम्बन्धी उपचार एवं शल्यक्रियामा करिब २१ वर्षको अनुभव संगालेका छन् ।
नशासम्बन्धी उपचार र अपरेशनका लागि पोखरा मै सेवा दिने लक्ष्य रोका र अस्पताल प्रशासनले लिएको छ । उपचार र अपरेशनसँगै नर्सिङका विद्यार्थीलाई अध्यापनमा व्यस्त रोका दक्ष र सबल टिम निर्माणमा समेत जुटिरहेको बताउँ छन् ।
सर्जनकै भूमिकाबाट २ दर्जन बढी अवार्डले पाएका प्राडा रोकाले १५ हजार अपरेशन गरिसकेका छन् । जसमध्ये ७ हजार ५ सय जटिल प्रकृतिका रहेको उनी बताउ छन् ।
विशेषज्ञ सेवालाई अझ विस्तार गर्न अस्पतालले छिट्टै नयाँ प्रविधि र उपकरण भित्र्याउने तयारी गरिरहेको छ ।





