गगनगौंडा गढीस्थित पशुपतिनाथ मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने

-


     क्लिक गण्डकी     
     असाेज १५ गते २०८१ मा प्रकाशित


गगनगौंडा गढीस्थित पशुुपतिनाथ मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने

गगनगौंडा गढीस्थित पशुुपतिनाथ मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने

पोखरा, १५ असोज/ पोखरा महानगरपालिका वडा नं ३० गगनगौंडा गढीस्थित पशुपतिनाथ मन्दिर परिसरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने तयारी गरिएको छ ।

शुक्ला गण्डकी नदीको किनारास्थित पोखरा महानगरपालिकाको वडा नं ३०, ३२ र ३३ को संगमस्थल जस्तै बनेको मन्दिरलाई धार्मिक आस्था र विश्वासको गन्तव्यका रुपमा विकास गर्ने पशुपतिनाथ मन्दिर संरक्षण समितिको दीर्घकालीन लक्ष्य रहेको आज आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष राजु खत्रीले जानकारी दिनुभयो ।

धार्मिक एवम् सामाजिक व्यक्तित्व सीता थापाको पहलमा २०७२ साल मंसिर २४ गते समाजसेवी तीर्थ जंगलीले शिलान्यास गर्नुुभएको मन्दिरलाई त्यस यता विभिन्न संघ संस्था एवम् सहयोग दाताको सहयोगमा बर्तमान अवस्थासम्म ल्याइएको उहाँले जानकारी दिनुभयो । तत्कालीन समयमा कृष्ण केसीले समितिको अध्यक्षता गर्नुभएको र २०७९ असोज १ गतेदेखि आफ्नो नेतृत्वमा बर्तमान कार्यसमिति यहाँको प्रवद्र्धन र विकासमा लागिरहेको उहाँले बताउनुभयो ।

मन्दिरमा परिसरमा हाल मूल पशुपतिनाथ मन्दिरसँगै सूूर्य नारायण, लक्ष्मी नारायण, गणेश र दुर्गा मन्दिरसँगै हवन कुण्ड रहेको बताउँदै उहाँले मन्दिरमा रहेका सबै मूर्तिहरू ढुुङ्गाले कुँदिएको जानकारी दिनुभयो ।

मन्दिरको नियमित पूजा सञ्चालनमा लागि कालिकोट जन्मस्थान रहनुभएका पुुजारी पं हिमाल बराललाई आवशीय रुपमा राखिएको जानकारी दिदै उहाँले प्रत्येक दिन बिहान रुद्री पारायण सहित नियमित पूजाआजा हुने गरेको जानकारी दिनुभयो ।

मन्दिरमा सोह्र श्राद्ध सुुरु भएयता श्राद्ध गर्न चाहनेका लागि आवश्यक व्यवस्थासँगै यही असोज १७ गते घटस्थापनाका दिन साँझ ४.३० बजे महाआरती गर्ने कार्यक्रम तय गरिएको छ । घटस्थापनादेखि असोज २५ गतेसम्म नवदुर्गा भवानीको पूजासँगै चण्डीपाठको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार समितिकै सकृयतामा असोज २७ गतेदेखि कात्तिक २७ गतेसम्म हरिबोधनी एकादशीका दिन फूलतार्ने प्रयोजनका लागि गंगा के.सी. कर्ताका रुपमा रहनुभएको छ ।

समितिका बरिष्ठ उपाध्यक्ष तीर्थ जंगलीले शिव शक्ति समूहको सकृयतामा तत्कालीन समयमा सीता थापा मार्फत कृष्ण केसी लगायतका व्यक्तित्वहरूको पहल पश्चात मन्दिरका लागि जग्गा उपलब्ध गराइएको जानकारी दिनुभयो । यस मन्दिरलाई नजिकै रहेको सतीघाटसँग जोड्ने लक्ष्य रहेको उहाँले जानकारी गराउनुभयो ।

मन्दिर परिसरमा पाँच रोपनी जग्गा रहेको जानकारी दिदै उहाँले यसलाई यस क्षेत्रको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोच राखिएको जानकारी दिनुभयो ।

समितिका अध्यक्ष राजु खत्रीको अध्यक्षता एवम् सचिव प्रेमबहादुर थापाले सञ्चालन गर्नुुभएको कार्यक्रममा उपाध्यक्ष मेघनाथ आचार्य, सल्लाहकार इश्वरीप्रसाद पौडेल, कोषाध्यक्ष विन्धेश्वरी शाही, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनाल लगायतले धार्मिक आस्था र विश्वासको केन्द्रका रुपमा यस मन्दिरको प्रवद्र्धन र विकास गर्नुपर्ने आवश्यकता र्औंल्याउनुभयो ।



This will close in 10 seconds