पोखराको पश्चिमाञ्चल अस्पतालमा मिर्गौला प्रत्यारोपण सफल

-


     क्लिक गण्डकी     
     चैत्र ९ गते २०८० मा प्रकाशित


पश्चिमाञ्चल क्षेत्रीय अस्पताल

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल

पोखरा, ९ चैत/ पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौला सफलता पूर्वक प्रत्यारोपण भएको छ । अस्पतालले आफ्नै जनशक्तिबाट बिहीबार सफल प्रत्यारोपण गरिएको हो ।

तनहुँको व्यास नगरपालिका १० की ३५ वर्षीया सम्झना गुरुङको मिर्गौला सफल प्रत्यारोपण गरिएको हो । उनलाई लमजुङ सुन्दरबजार नगरपालिका बस्ने बहिनी सुमिना गुरुङले मिर्गौला दान दिएकी हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको अस्पतालमा प्रत्यारोपण सेवा सुरु भएको २० महिनापछि पहिलोपटक आफ्नै जनशक्तिबाट प्रत्यारोपण भएको हो ।

यसअघि २०७९ असारमा पहिलोपटक सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले मिर्गौला प्रत्यारोपण गरेको थियो ।

पोखरामा प्रत्यारोपणका लागि केन्द्रले सहयोग गर्दै आएकामा पछिल्लो पटक अरुको सहयोग बिनानै चिकित्सकको टोलीले सफलतापूर्वक प्रत्यारोपण गरेका हुन् ।

बिहीबार अस्पतालका युरो सर्जनद्धय डा प्रकाश क्षेत्री र डा अनुप चापागाईँ, नेफ्रोलोष्टि डा जुजुराम श्रेष्ठ र डा अमृत केसी, जनरल सर्जन डा डेभिड श्रेष्ठको टोलीले प्रत्यारोपण गरेका हुन् ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आठ वटा प्रत्यारोपणमा प्रत्यारोपण केन्द्रका चिकित्सकबाट गरिएकामा हिजो नवौँ प्रत्यारोपण पहिलो पटक प्रतिष्ठानका आफ्नै चिकित्सक र स्वास्थ्यकर्मीबाट गरिएको प्रतिष्ठानका निर्देशक डा भरतबहादुर खत्रीले जानकारी दिए ।