स्याङ्जामा जन्ती बोकेको जिप दुर्घटना, १ जनाको मृत्यु, पोखराकी सारा सहित १० घाइते

-


     क्लिक गण्डकी     
     असाेज ८ गते २०८३ मा प्रकाशित


दुर्घटना

दुर्घटना

स्याङ्जा, ८ असोज/ स्याङ्जाको भिरकोटमा बिहेको भोज खाएर फर्कँदै गरेको जन्ती बोकेको जिप दुर्घटना भएको छ । दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

भिरकोट नगरपालिका वडा नम्बर १ करुङस्थित बयरघारी केगा भित्री सडक खण्डमा बिहीबार साँझ ग १ ज ७६१० नम्बरको जिप दुर्घटनामा परेको हो।

दुर्घटनामा पुतलीबजार नगरपालिका वडा नम्बर १० का ७६ वर्षीय उत्तमसिंह गुरुङको भिरकोट नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिए ।

भिरकोट नगरपालिका वडा नम्बर ३ बजादीमा विवाहको भोज खाएर बयरघारी तर्फ आउँदै गरेको जिपको स्टेरिङ लक भई घुम्तीमा मोडिन नसक्दा सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो।

दुर्घटनापछि ५० वर्षीय चालक खेमप्रसाद गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा घाइते भएका १० जनाको भिरकोट नगर अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा पोखरा महानगरपालिका वडा नम्बर ८ बस्ने ३२ वर्षीया सारा गुरुङ घाइते भएकी छिन्। उनको टाउको, ढाड र दाहिने खुट्टामा चोट लागेको छ।

यस्तै स्याङ्जाको बिरुवा गाउँपालिका वडा नम्बर २ बस्ने ६३ वर्षीय खड्क गुरुङको दाहिने खुट्टा र कुममा चोट लागेको छ। पुतलीबजार नगरपालिका वडा नम्बर १२ का ५१ वर्षीय रुमबहादुर गुरुङको दाहिने खुट्टा र टाउकोमा चोट लागेको छ।

बिरुवा गाउँपालिका वडा नम्बर २ की ४९ वर्षीया कृष्णमाया गुरुङको बायाँ खुट्टा, दाहिने हात र ढाडमा चोट लागेको छ। बिरुवा गाउँपालिका वडा नम्बर ७ की ५५ वर्षीया केशमाया गुरुङको छातीमा भित्री चोट लागेको छ।

यस्तै बिरुवा गाउँपालिका वडा नम्बर २ का ६० वर्षीय यमबहादुर गुरुङको दाहिने हात र अनुहारमा चोट लागेको छ। सोही ठाउँका ५३ वर्षीय मनबहादुर गुरुङको टाउको, दाहिने हात र अनुहारमा चोट लागेको छ।

पुतलीबजार नगरपालिका वडा नम्बर १० का ८० वर्षीय पदमबहादुर गुरुङको छाती र दाहिने हातमा चोट लागेको छ।

नवलपरासी घर भई हाल भिरकोट नगरपालिका वडा नम्बर २ दहथुम बस्ने ४३ वर्षीया रसमाया गुरुङ पनि घाइते भएकी छिन्। उनको अवस्था सामान्य रहेको छ।

भिरकोट नगरपालिका वडा नम्बर ३ बजादीकी ४९ वर्षीया तेजकुमारी गुरुङको बायाँ कोखामा चोट लागेको छ। रसमायाबाहेक अन्य सबै घाइतेहरूको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।