
पोखरा, रानीपौवाको गाईने चौतारा
प्राज्ञ डा. जगमान गुरुङ
म २०१८ माघमा पोखराको रामघाटस्थित ड्रिस्ट्रिक सोल्जर्स बोर्ड हाई स्कूलमा पढ्न गाउँबाट पोखरा आएको थिएँ। पोखराको रानीपौवाका विभिन्न ठाउँमा हामीहरु डेरा गरेर बसेका थियौँ। म पुराना कुराहरुमा चासो राख्ने मान्छे भएको हुँदा पोखराका केही पुराना कुराहरु मलाई थाह छ। यस फोटोमा देखिएको ठूलो घर श्याम साहू अर्थात् श्यामप्रसाद कर्माचार्यको घर हो।
पनौतिबाट पोखराको रानीपौवा आएर बसेका कर्माचार्य वंशमा गङ्गाप्रसाद कर्माचार्य भए। गङ्गाप्रसाद कर्माचार्यका जेठा छोरा श्यामप्रसाद कर्माचार्य श्याम साहू र कान्छा छोरा कृष्णप्रसाद कर्माचार्य चाहिँ कान्छा साहूका नामबाट कहलाएका थिए। यी दुवै दाज्यू भाइले नेपाल राष्ट्र बैंकबाट नोठ सटहीको स्वीकृति पाएर नोठ सटही गर्दथे। अघि श्री ३ महाराज चन्द्रशमशेर जबराका छोराहरु छुट्टी भिन्न हुँदा ९/९ करोड नगद बाँडेका थिए रे । पोखरा, रानीपौवाका श्याम साहू र कान्छा साहूको अंश बण्डा हुँदा ९/९ लाख नगद बाँडेका थिए रे । नगद रकम गन्न नभ्याएर पोखरा, रानीपौवा, पुरानो धाराका डिट्ठा तेजनारायण कोईरालालाई साक्षी राखेर चाँदीका मोहर तुलोमा जोखेर बाँडेका थिए रे ।
सेतीगण्डकीमा महेन्द्रपुल बन्नु भन्दा अघि सेतीगण्डकीमा काठको साँघु थियो र श्याम साहूको घरको आगनबाट तल ओर्लेर सेती तर्न पर्दथ्यो। सेतीको पारीपट्टी सेतीको डिलमा सेलरोटी र चनाको तर्कारी बेच्ने स(साना कटेराहरु थिए। सेतीगण्डकीमा महेन्द्रपुल बन्नु भन्दा अघि अहिलेको महेन्द्रपुल बजारमा बस्ती थिएन।त्यसबेला अहिलेको महेन्द्रपुल बजारलाई पाटनटोल भन्दथ्यो ।
यस फोटोमा अघाडी पट्टि सानो र पछाडी पट्टि ठूलो चौतारा देखिन्छ। रानीपौवाका भक्तबहादुर रञ्जित, जितबहादुर रञ्जित, रामबहादुर रञ्जित र वहाँहरुका भतिजा जुठे रञ्जितले यो फोटोमा देखिएको पछाडीपट्टीको ठूलो चौताराको नाम गाईने चौतारा हो भन्नु हुन्थ्यो। दोपाय अथवा मान्छेको लागि चौतारा बनाए पछि चौपायको लागि पोखरी बनाउने चलन छ।त्यसकारण उक्त गाईने चौताराको छेउमा एउटा पोखरी थियो रे । बाटोमा परेर पोखरी मासियो तर चौतारा ता पछिसम्म नै थियो।
काठमाण्डौ, जैसीदेवल, चिकमुँगलका नारायणदास रञ्जित राणाको दरबार पसेका एक जना मानन्धर महिला लिएर पोखरा आएछन् र एक जना भोटेलाई भारी बोकाएर ल्याएछन्। पोखरा, रानीपौवाको गाईने चौतारामा भारी बिसाए पछि त्यो भोटे भरियाले के लक्षण देखे रु उनले नारायणदास रञ्जितलाई ए साहू १ तिमी बस्ने भए यो पोखरीको डिलमा बस भनेछन्। त्यसपछि नारायणदास रञ्जितले काहुँ कुँडहर मौजाका द्वारे दुर्योधन कार्कीलाई चार दाम ठेकी लगाएर त्यस पोखरीको डिलमा धुरी खडा गरेर बसेछन् ।
त्यहाँ बसेपछि नारायणदास रञ्जितले धेरै धन आर्जन गरे छन्। त्यसपछि नयाँ साहू नारायणदास रञ्जितले आफ्नै घर अघाडी शोभाभगवतीको मन्दिर बनाए। राधाकृष्णको मूर्ति पनि स्थापना गरेर भजन गुठी स्थापना गरे । राम्रोसंग नियालेर हेय्रो भने यो फोटोमा चौतारादेखि पूर्व तिर नयाँ साहू नारायणदास रञ्जितले बनाएको शोभाभगवतीको मन्दिरको माथिल्लो भाग देखिन्छ। अहिले शोभाभगवती मन्दिरको प्राङ्गणमा नारायणदास रञ्जितको प्रतिमा स्थापना गरिएको छ। अहिले म पनि त्यस भजन गुठीको सदस्य छु।
पोखराको बाटुलेचौर गाईनेहरुको एउटा प्रसिद्ध बस्ती हो।बाटुलेचौरमा बोकेचौतारा नामको एउटा चौतारा थियो। पोखराको भीमसेनटोल र भैरवटोलको माझमा तलबाट जाँदा वायाँपट्टी बिजुक्छेँहरुको घरको आडमा एउटा ढुनरो परेको पिपलको फेदमा सिमलचौरका एक जना कवँर योगी भुसा बेच्दथे । त्यस चौतारालाई भुसा चौतारा भनिन्थ्यो। पोखराको भैरवटोलमा अहिले सर्वज्ञमान प्रधानाङ्गको घरको पारीपट्टी घले सुब्बा अथवा सुब्बा कृष्णबहादुर घलेको आगनमा एउटा लामो चौतारा थियो र त्यस चौताराको नामबाट त्यस टोललाई लामाचौतारा भनिन्थ्यो।
अघि त्यस ठाउँमा लामाचौतारा हुँदा गाईजात्राका दिन भैरवटोलको तायमचा नाचले उक्त लामाचौतारा घुम्दो रहेछ। अहिले लामचौतारा नहुँदाको अवस्थामा पनि गाईजात्राका दिन भैरवटोलको तायमचा नाचले अघि लामाचौतारा भएको ठाउँलाई घुम्दछ।यसबाट यस लामाचौताराको सांस्कृतिक महत्त्व रहेको बुझिन्छ।अघि कुनै बेलाको काठमाण्डौ, नयाँसडकको पिपलबोट जस्तै पोखराको लामाचौतारा पनि राजनैतिक गतिविधिको एउटा अखडा थियो।
आज सामाजिक सञ्जालमा पोखराको रानीपौवामा गाईने समुदायको नामबाट नाम रहेको गाईने चौताराको फोटो पाएकोले पोखराको अतितका केही संझनाहरु यहाँ प्रस्तुत गर्ने अवसर पाएँ।
धन्नै हो मनको तिर्सना
प्राज्ञ डा. जगमान गुरुङको फेसबुकबाट





