
फ्लाइ दुबई
पोखरा, १७ असोज / खराब मौसमका कारण पोखराबाट भारतको लखनउतर्फ डाइभर्ट भएको फ्लाईदुबईको जहाज पुनः पोखरा फर्किएर अवतरण गरेको छ।
दुबईबाट पोखरा आएको फ्लाईदुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम प्रतिकूल भएपछि केही समय आकाशमै होल्ड भएको थियो। मौसम तत्काल सफा हुने अवस्था नदेखिएपछि जहाजलाई भारतको लखनउतर्फ डाइभर्ट गरिएको थियो।
पोखराको मौसममा सुधार आएपछि जहाज शनिबार साँझ ९ बजेर ३३ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण गरेको हो।
विमानस्थलमा अवतरण गरेपछि जहाजमा आएका यात्रुलाई पोखरामै ओरालिएको छ। त्यसपछि पोखराबाट दुबई जाने यात्रु लिएर फ्लाईदुबईको जहाज आजै दुबईका लागि उड्ने तयारी रहेको छ।
खराब मौसमका कारण केही समय प्रभावित भए पनि पोखरा–दुबई अन्तर्राष्ट्रिय उडान नियमित प्रक्रियाअनुसार सञ्चालन हुने विमानस्थलले जनाएको छ।







