
‘अपरेसन ३६५’ अन्तर्गत पोखरामा थप ११ मोटरसाइकल नियन्त्रणमा
पोखरा/ जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयबाट सञ्चालन भइरहेको ‘अपरेसन ३६५’ अभियान अन्तर्गत पोखरामा स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ।
प्रहरीले २०८३ असोज १६ गते राति पोखरा महानगरपालिकाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा ध्वनि प्रदूषण गर्ने मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले तालचोक क्षेत्रबाट ७ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
त्यस्तै, वडा प्रहरी कार्यालय बैदामको टोलीले लेकसाइड तथा राष्ट्रबैंकचोक क्षेत्रबाट १ वटा, वडा प्रहरी कार्यालय बगरको टोलीले नदीपुर क्षेत्रबाट १ वटा र वडा प्रहरी कार्यालय रामबजारको टोलीले अमरसिंहचोक क्षेत्रबाट २ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो।
कास्की प्रहरीले स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने सवारीसाधनमाथि कारबाही गर्ने अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।
प्रहरीका अनुसार हालसम्म ‘अपरेसन ३६५’ अन्तर्गत ८८२ वटा सवारीसाधन र ३६ जना मानिस नियन्त्रणमा लिई कारबाही गरिएको छ।







