
पोखराको बिरौटामा फिजियोफिटनेस पेन एण्ड रिह्याबिलिटेशन सेन्टर संचालन
पोखरा, ३ साउन / आधुनिक तथा वैज्ञानिक स्वास्थ्य सेवामार्फत गुणस्तरीय उपचार उपलब्ध गराउने उद्देश्यले पोखरा–१७, बिरौटास्थित हिमाली टोलमा फिजियोफिटनेस पेन एण्ड रिह्याबिलिटेशन सेन्टर संचालनमा आएको छ ।
आइतबार आयोजित समारोहमा उक्त सेन्टरको प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, विशेष अतिथि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निवर्तमान उपकुलपति प्रा.डा. भरतबहादुर खत्रीसमेतले उद्घाटन गरे ।
युवा अचेल विदेशिने प्रचलनबीच दुई जना जेनजी युवाले नागरिकको स्वास्थ्यका लागि लगानी गरेका हुन् । करिब एक करोडको लगानी रहेको सेन्टरले भविष्यमा अर्थो र न्यूरोसहितको फिजियोथेरापी क्लीनिक संचालन गर्ने लक्ष्य लिएको छ । सञ्चालकद्वयमध्ये अध्यक्ष प्रकट खनाल र निर्देशक युद्ध बराल दुवै बल्ल २६ वर्षका भए ।
प्रमुख अतिथि मुल्मीले नसर्ने रोगबाट मानिस थाहै नपाई मृत्युको मुखमा धकेलिरहेको अवस्थामा फिजियोथेरापीले निकै मद्दत गर्ने बताए । पोखरामा कुनै नयाँ व्यवसाय संचालन भएमा त्यसलाई सफल पार्नु सबै पोखरेलीको दायित्व हो भन्दै फिजियोथेरापीका लागि पोखराबाट अन्यत्र जानुपर्दैन भन्ने मानक स्थापित गर्न सुझाव दिए ।
उनले पोखरामा आरोग्य पर्यटन विकासका लागि जोडिन आग्रह गरे । अभिभावकले आफ्ना छोराछोरीलाई स्वदेशमै केही गर्नुपर्छ भनी यसैगरी प्रेरित गर्नुपर्ने बताए ।
डा. खत्रीले नेपाल सम्भावनै सम्भावनाको देश भए पनि हामीहरुले उपयोग गर्न नसकेको टिप्पणी गरे । उनले बिरामीको स्वास्थ्यका विषयमा चिकित्सक र फिजियोथेरापीको भूमिका आधा–आधा हो भने ।
पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्यले नाफामूलक नभई सेवामूलक हुनुपर्नेमा जोड दिँदै वार्षिक रुपमा सदस्य बनाएर अघि बढ्न सेन्टरका संचालकलाई सुझाव दिए ।
लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष जानुका पराजुलीले युवाले चाहेमा देशमै केही गर्न सक्छन् भन्ने उदाहरण सेन्टरका संचालक खनाल र बराल परिवार रहेको जनाइन् । उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, विभिन्न संघ–संस्थाका प्रतिनिधि,सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।
उक्त सेन्टरमा अत्याधुनिक फिजियोथेरापी तथा पुनःस्थापना सेवासँगै अर्थोपेडिक ओपीडी र जनरल ओपीडीसमेत सञ्चालनमा आउने जनाइएको छ । यसबाट हड्डी–जोर्नी, मांसपेशी, स्नायु तथा अन्य सामान्य स्वास्थ्य समस्याका बिरामीले एउटै स्थानबाट विशेषज्ञ परामर्श तथा आवश्यक उपचार सेवा प्राप्त गर्न सक्ने सेन्टरका अध्यक्ष प्रकट खनालले जानकारी दिए ।
गण्डकी प्रदेशमै फिजियोथेरापीका लागि अत्याधुनिक उपकरणसहित सुविधासम्पन्न यस सेन्टरमा विशेषज्ञ सेवासमेत उपलब्ध हुनेछ । बदलिँदो जीवनशैली, लामो समय कुर्सीमा बस्ने बानी, खेलकुदजन्य चोटपटक, सडक दुर्घटना तथा हड्डी–जोर्नी र स्नायुसम्बन्धी समस्याका कारण फिजियोथेरापी सेवाको आवश्यकता दिनप्रतिदिन बढ्दै गएको छ ।
उक्त सेन्टरमा ढाड, घाँटी, काँध, कम्मर तथा घुँडाको दुखाइ, फ्रोजन सोल्डर, स्पोट्र्स इन्जुरी, पक्षघात (स्ट्रोक) पछिको पुनः स्थापना, नसा च्यापिने समस्या, अर्थोपेडिक तथा न्युरोलोजिकल पुनः स्थापना, शल्यक्रियापछिको पुनः स्थापना, इलेक्ट्रोथेरापी, एक्सरसाइज थेरापी लगायत सेवा उपलब्ध हुने सेन्टरका संचालक युद्ध बरालले बताए ।
पोखरा विश्वविद्यालयबाट ब्याचलर इन फिजियोथेरापी सकाएका प्रकटले यतिबेला अमेरिकाको एक विश्वविद्यालयबाट डक्टर इन फिजियोथेरापी पढिरहेका छन् । अर्का युद्ध बरालले एमबिए पूरा गरेका छन् । प्रकटका बुवा प्रकाशमोहन खनाल विगत तीन दशकदेखि निर्माण व्यवसायमा कार्यरत् छन् । उनको प्रकट प्रकृति निर्माण एण्ड सप्लायर्स कम्पनी प्रालि संचालित छ । बाबुकै प्रेरणाबाट नेपालमै सम्भावना देखेर लागेको प्रकटले खुलाए ।
अर्का संचालक युद्ध बरालले सरकारले लगानीका लागि वातावरण बनाइदिने हो भने युवा पुस्ता विदेशिनु नपर्ने बताए । उनले नागरिकको शारीरिक एवं मानसिक स्वास्थ्य विकासमा आफ्नो सेन्टरबाट केही न केही सहयोग पुग्ने अपेक्षा गरे ।





