
स्याङ्जामा सुन्तलाको बोक्राबाट फेस प्याक र आयुर्वेदिक साबुन
स्याङ्जा, २४ असार/ स्याङ्जा भन्नेबित्तिकै धेरैको मुख रसाउँनुका साथै मनमा सुन्तलाको मिठो स्वाद आउँछ । जिल्लाको पहिचान बन्दै गएको सुन्तला अब फलका रूपमा मात्रै सीमित नहुने भएको छ । सुन्तलाको बोक्रा प्रशोधन गर्दै जिल्लामै पहिलोपटक सौन्दर्य सामग्री तथा जडीबुटीको प्रयोगबाट हर्बल साबुनको उत्पादन थालिएको छ ।
स्थानीय स्रोत तथा उत्पादनलाई मूल्यवद्र्धन गर्ने उद्देश्यले सुन्तलाको बोक्रा तथा जडीबुटीलाई उद्यम, रोजगारी र स्थानीय ब्रान्डमा परिणत गरिएको छ । विगतदेखि फालिदै आएको सुन्तलाको बोक्रा र स्थानीय जडीबुटीको बहुउपयोग गर्दै पुतलीबजार नगरपालिका–३ बाड्खोलास्थित अन्जु कस्मेटिक एण्ड ब्युटी होमले फेस प्याक र आयुर्वेदिक साबुनको उत्पादन थालेको हो । उत्पादित सामग्री फेस प्याक र साबुनको बजारीकरणको समेत शुरुवात गरिएको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना स्याङ्जाको सहयोगमा संचालित ‘युवा उद्यमशीलता’ कार्यक्रमअन्तर्गत फेस प्याक र साबुनको उत्पादनसँगै बिक्री वितरण गरिएको छ । सुन्तलाको बोक्राबाट तयार गरिएको फेस प्याक तथा सुन्तला, तितेपाती र निमपातको प्रयोगबाट तयार पारिएको साबुन औपचारिक रुपमा बजारीकरण थालिएको हो ।
जिल्लामा सुन्तला, तितेपाती र निमजस्ता कच्चा पदार्थको अभाव छैन । प्राकृतिक श्रोतबाट बनेका स्वास्थ्यमैत्री उत्पादनको प्रयोग बढाउन उत्पादकले आग्रह गरेका छन् । स्थानीय तीन जना महिलाको अगुवाइमा थालिएको अभियानलाई सबैले साथ दिए राम्रो सम्भावना बोकेको उनीहरुको बुझाई छ । अन्जु कस्मेटिक एण्ड ब्युटी होमकी संचालिका अन्जु शर्मा रेग्मीले स्थानीय उत्पादनलाई नयाँ पहिचान दिने उद्देश्यले यात्रा सुरु गरेको सुनाइन् ।
जिल्लाको पहिचानलाई नयाँ स्वरुप दिएका उनीहरुले उत्पादनसँगै बजारीकरणको साझा प्रयास गरेको बताए । स्थानीय श्रोत, सीप र आयुर्वेदिक ज्ञानलाई जोडेर गुणस्तरीय सामग्री उत्पादन गरेको दाबी गरेका उनीहरुले सुन्तला उत्पादक कृषक, बेरोजगार महिला र युवालाई वनजंगलमा खेरा गएका जडिबुटीको सहयोगमा उद्यमसँग जोड्ने विश्वास लिएको जनाए ।
स्थानीय उत्पादनको उचित उपयोग र स्वदेशी ब्रान्डप्रतिको विश्वास बढ्दै गए ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना हुने र स्थानीय अर्थतन्त्र बलियो बन्ने अपेक्षा गरिएको छ । उत्पादनको पहिलो चरणमा सुन्तलाको फेस प्याक, सुन्तलाको नुहाउने साबुन, तितेपातीको नुहाउने साबुन र निमपातको नुहाउने साबुन बजारमा ल्याइएको छ । उत्पादनको बजारीकरण राम्रो बन्दै गए थप सामग्री उत्पादन गर्ने उद्योग संचालकको रणनीति रहेको छ ।
झण्डै ८ लाखको लागतमा संचालित उद्योगमा कच्चा पदार्थ, प्याकेजिङ् तथा लेबलिङ मेशिनका लागि कार्यक्रमले सहजीकरण गर्दै आएको छ । रेग्मीसहित मिरा मल्ल र शर्मिला कुँवरसहित तीन महिलाको संयुक्त एएमएस आयुर्वेदिक टिमले आगामी दिनमा स्थानीय जडीबुटी र कृषि उत्पादनमा आधारित थप आयुर्वेदिक सामग्री उत्पादन गर्ने तयारी गरेको जनाइएको छ ।
उद्योगले उत्पादनसँग सुन्तलाको बोक्राको सदुपयोग गरेपछि फोहोर व्यवस्थापनमा टेवा पु¥याउने, युवा तथा महिला उद्यमशीलता प्रवद्र्धन गर्ने, रोजगारी सिर्जना गर्ने र जिल्लाको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । उत्पादनलाई ‘खेतदेखि बजारसम्म र उत्पादनदेखि ब्रान्डसम्म’ जोड्ने लक्ष्यसहित सुरु गरिएको प्रयासले जिल्लाको सुन्तलालाई नयाँ पहिचान दिलाउने अपेक्षा गरिएको छ ।





