पोखराको सृजनाचोकमा दुर्घटना, नेविसंघका नेता राजिब बाँस्तोलाको निधन

-


     क्लिक गण्डकी     
     असार १ गते २०८३ मा प्रकाशित


पोखराको सृजनाचोकमा दुर्घटना, नेविसंघका नेता राजिब बाँस्तोलाको निधन

पोखराको सृजनाचोकमा दुर्घटना, नेविसंघका नेता राजिब बाँस्तोलाको निधन

पोखरा, १ असार/ पोखरामा भएको सवारी दुर्घटनामा परि नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य राजिब बांस्तोलाको निधन भएको छ। आइतबार दिउँसो करिब साढे पाँच बजेको समयमा सृजनाचोक र सभागृहचोकको बिचमा भएको दुर्घटनामा परि उनको निधन भएको हो ।

आइतबार दिउँसो कास्की जिल्ला सहकारी संघमा आयोजित तालिम कार्यक्रममा सहभागी भएर फर्किने क्रममा बा प्र ०३ ००१ क १६५० नम्बरको रेडी मिक्स्चरले उनी सवार मोटरसाइइकललाई ठक्कर दिएको थियो ।

गाडीले सडकमा एकै दिशामा गैरहेको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिएको कारण सडकमा लडेका बाँस्तोलालाई मेट्रोसिटि अस्पताल लागिएको भए पनि डाक्टरले मृत घोषणा गरेका थिए।

बाँस्तोलाको टाउकोमा गम्भीर भित्रिचोट (हेड इन्जुरी) लागेको हुन सक्ने र सोहि कारण उनको तत्काल निधन भएको हुनसक्ने डाक्टरले बताए।

बास्तोलाको शव पोस्टमार्टमको लागि पोखराको मणिपाल अस्पतालमा लागिएको छ। सोमबार बिहान पोस्टमार्टम गरेपछि उनको अन्त्येष्टि गरिने परिवारले जनाएको छ । गाडी चालक मकवानपुर जिल्ला हेटौंडा घर भएका ४० बर्षका राजन अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

३२ बर्षीय राजिब बाँस्तोला नेपाली काँग्रेस गण्डकी प्रदेशका आमन्त्रित सदस्य एबम कास्की क्षेत्र नम्बर ३ का नेता खिमलाल बाँस्तोलाका एकमात्र छोरा हुन्। खिमलालका अन्य दुई छोरीहरु रहेको र उनीहरु बिबाहित भएपनि राजिब बाँस्तोला भने अबिबाहित नै थिए।



Tags: