पर्वतमा महिलाको हत्या गरेर गहना लुटपाट

-


     क्लिक गण्डकी     
     जेठ २७ गते २०८३ मा प्रकाशित


पर्वतमा महिलाको हत्या गरेर गहना लुटपाट

पर्वतमा महिलाको हत्या गरेर गहना लुटपाट

पर्वत, २७ जेठ/ पर्वतमा जेठ ८ गते महिलाको हत्या गरेको गहना लुटापट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

कर्तव्य ज्यान तथा डाँका चोरीमा मुद्दाका अभियुक्त फलेवास नगरपालिका–५ बस्ने २८ वर्षी कुशल पुरीलाई प्रहरीले पक्राउ गरेको हो ।

फलेवास नगरपालिका–५ खानीगाउँ बस्ने बागलुङ जैमिनी नगरपालिका–५ बिनामारे घर भएकी ५२ वर्षीया सन्तु नेपाली भन्ने सोमकुमारी नेपाली कोठामा जेठ ८ गते मृत अवस्थामा फेला परेकी थिइन् ।

घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय पर्वत समेतबाट खटिएको प्रहरीले उनलाई मोदी गाउँपालिका–५ पातीचौरस्थित होटल प्रिन्साबाट पक्राउ गरेको छ ।

कुशलले सन्तु नेपालीको कोदालो प्रहार गरी हत्या गरेको खुलेको छ । हत्यापछि मृतकले लगाएको सुनको सिक्री र मुन्द्रा लुटेको खुल्न आएको छ । प्रहरीले कुशलको साथबाट मृतककले लगाउने सुनको मुन्द्रा ८ थान बरामद गरेको छ ।

लुटिएको सुनको गरगहना कुश्मा नगरपालिका–५ दर्शनटोल बस्ने स्मृति गहना उद्योगका सञ्चालक रमेश कुमार श्रेष्ठलाई बेचेको भन्ने खुल्न आएपश्चात प्रहरीले रमेशको गहना उद्योग तलासी गर्दा मृतकले लगाउने सुनको सिक्री १ थान र मुन्द्रा २ थान फेला पारी पक्राउ गरेको छ ।

उनीहरूलाई जिल्ला अदालत पर्वतबाट म्याद अनुमति लिई थप अनुसन्धान गरिरहेको छ ।