
बागलुङको गोल्डेन टि ईस्टेटको चिया नेपाल उत्कृष्ट
पोखरा, १५ बैशाख/ ३० औँ राष्ट्रिय चिया दिवसको अवसरमा भएको टि टेस्टङमा बागलुङको गोल्डेन टि ईस्टेटको चिया नेपाल उत्कृष्ट भएको छ ।
चार क्याटागोरीमा भएको चियाको स्वाद परिक्षण प्रतियोगितामा दुई क्याटागोरीमा गोल्डेन टि ईस्टेटको चिया प्रथम भएको हो । गोल्डेनको चिया ग्रिनिस अर्थोडक्स र गोल्डेन टि प्रथम भएको हो । नेपालभरीका ४५ चिया उद्योगका १२० चियाका नमुनाको अर्गानोलेप्टिक टेष्ट गरिएको थियो ।
भारतका वरिष्ठ टि टेस्टर कौषिक भट्टाचार्य र डेविड जोनसन, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका वरिष्ठ चिया प्राविधिक नविन कोइरालले चिया परीक्षण गरेका थिए । यो चिया गण्डकी प्रदेश, बागलुङको ताराखोला गाँउपालीका –१ शिरूवारीमा उत्पादन भएको छ ।

स्वादबाट गरिने चिया परीक्षणमा सुख्खा चियाको रूप, बासना, तातोपानी डुबाईसके पछिको रूप, बासना र स्वादलाई इन्द्रियहरूको माध्यमबाट अनुभुति गर्ने गरिन्छ । समुद्री सतहबाट २२०० देखि २४०० मिटरमा फैलिएको चिया बगानबाट उत्पादित चिया गुणस्तरमा अब्बल सावित भएको हो ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा भएको ३० औँ राष्ट्रिय चिया दिवसको मुल समारोहमा विजेताहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । बोर्डका कार्यकारी निर्देशक फाइन्द्र राज पाण्डेको अध्यक्षतामा सम्मन्न कार्यक्रममा चिया क्षेत्रका व्यक्तित्वहरू, चिया उद्योगी, चिया किसान र चिया पारखीहरूको सहभागीता रहेको थियो ।
विसं. २०७२ सालमा स्थापित गोल्डेन टि इस्टेट प्रा. ली ले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराको आर्थिक तथा प्राविधिक सहयोगमा यसै वर्ष देखी व्यवसायिक उत्पादन थालेको हो । गण्डकी प्रदेश चिया उत्कृष्ट हुँदा थप उत्साह र जिम्मेबारी बढेको क्षेत्रीय कार्यालय पोखराका प्रमुख चन्द्र पुरीले बताए ।
विविध समस्याहरूको बाबजुद बोर्डको सहयोगमा चिया प्रशोधन शुरू गरी चियाको गुणस्तर अब्बल सावित हुँदा हौसला बढेको गोल्डेन टि इस्टेट प्रालीका अध्यक्ष सरोज दाहालले बताए । उनले अझ बढी जिम्मेवार भएको अनुभूति गरेको र आगामी दिनहरूमा अझ समर्पण, निष्ठा र प्रतिबद्धताका साथ अघि बढ्ने बताए ।
चिया सेवनबाट शरिरलाई सन्तुष्टि पैदा भए झैँ यो सफलताले त्यो सन्तुष्टि प्राप्त गरेको बताए । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराका प्राविधिक नगेन्द्र सुबेदीले पहाडि क्षेत्रमा चिनिया जातको चिया खेति गरिने जसबाट अर्थोडक्स, ग्रिन टि लगायतका चिया प्रशोधन गर्न सकिने बताए ।
उचाई बढ्दै जाँदा चियाको उत्पादन घट्दै जाने तर गुणस्तर बढ्दै जाने उनले नेपालमा २२०० मिटर भन्दा माथि विरलै चिया बगानहरू रहेको बताए । उच्च उचाईको चिया उच्च गुणस्तरको हुने उनको भनाई छ । गण्डकी प्रदेशमा बागलुङ सँगै कास्की र लमजुङमा पनि व्यवसायिक चिया खेति रहेको बोर्डसँग तथ्यांक रहेको छ ।





