
गाडीको ठक्करबाट स्कुटरमा सवार २ जनाको मृत्यु
दमौली, २८ चैत/ तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा शनिबार दिउँसो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा११च ७३६५ नम्बरको टोयोटा गाडीले डिभाइडर नाघेर आफ्नै लेनबाट जाँदै गरेको ग१९प २९८८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । स्कुटरमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गाडीको ठक्करबाट घाइतेमध्ये एक जनाको पोखरास्थित गण्डकी मेडिकल कलेज र एक जनाको तनहुँ सेवा अस्पताल दुलेगौंडामा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृत्यु हुनेमा स्कुटर चालक पाँचथर घर भई हाल तनहुँको गाछेपानी स्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा पुजारीको रुपमा कार्यरत ३० वर्षिय गणेश खतिवडा र गाछेपानी निवासी स्कुटरको पछाडी सवार ५५ वर्षिय कृष्ण बहादुर भुजेल रहेका छन् । खतिवडा विगत ४ वर्षदेखि च्यवनधाममा पुजारीको रुपमा कार्यरत थिए ।





