पोखरा महानगरले गायक अमृत गुरुङ सहित ९ जनालाई नवरत्न सम्मान

-


     क्लिक गण्डकी     
     पौष २ गते २०८२ मा प्रकाशित


पोखरा महानगरले गायक अमृत गुरुङ सहित ९ जनालाई नवरत्न सम्मान

पोखरा महानगरले गायक अमृत गुरुङ सहित ९ जनालाई नवरत्न सम्मान

पोखरा, २ पुष/ पोखरा महानगरपालिकाले उत्कृष्ट काम गर्ने ९ जनालाई नवरत्न सम्मान गरेको छ । महानगरको ६७ औँ स्थापना दिवसको अवसरमा नवरत्न सम्मान गरेको हो । सम्मानित हुनेमा गायक तथा सङ्गीतकार अमृत गुरुङ सहितका श्रष्टा छन् । नेपथ्य ब्याण्डसँग आबद्ध भएर गुरुङले दर्जनौँ गीतमा स्वर दिएका छन् ।

त्यसै गरी पोखरा २२ पुम्दीकोटमा विशाल महादेव मूर्ति बनाउने परिकल्पनाकार समेत रहेका उद्योगी चन्द्रकान्त बराल, उद्योगी चन्द्रकृष्ण कर्माचार्य, साहित्यकार तीर्थ श्रेष्ठ, पत्रकार तीलकमान गुभाजु सम्मानित भए ।

यस्तै, प्राडा बुद्धिबहादुर थापालाई स्वास्थ्य क्षेत्रबाट सम्मान गरिएको छ भने खेलकुद क्षेत्रबाट वीरेन्द्रसिंह गुरुङ, उद्यमशीलताबाट रामकली खड्का र उद्योगबाटै हरि पाण्डेलाई सम्मान गरिएको छ ।

उनीहरूलाई २ लाख २ हजार २ सय दुई रुपैयाँ नगदसहित ताम्रपत्र, दोसल्ला, मेडलले सम्मान गरे । महानगरको उन्नयनमा योगदान गरेबापत महानगरले तेस्रो पटक नवरत्न सम्मान गरेको हो । यसअघि २०५५ र २०५९ सालमा पनि सम्मान गरिएको थियो । २०७२ सालमा तीन जनालाई पोखरा रत्न सम्मान प्रदान गरिएको थियो ।

अहिलेको सम्मानका लागि महानगरले छुट्टै कार्यविधि तयार गरेको थियो । पोखरा महानगरमा स्थायी ठेगाना भएका र महानगरभित्र मतदाता नामावलीमा नाम भएको व्यक्तिलाई मात्रै सम्मान गर्ने कार्यविधिमा व्यवस्था थियो । हालसम्म ३० जनाले नवरत्न सम्मान प्राप्त गरेका छन् ।

त्यसै गरी उत्कृष्ट करदाताका रूपमा मणिपाल शिक्षण अस्पताललाई सम्मान गरिएको छ । मणिपालले ३६ लाख १४ हजार १५ रुपैयाँ कर तिरेर सर्वाधिक कर तिर्ने व्यवसाय बनेको हो ।

दोस्रोमा पोखरा ग्राण्ड प्रालि बनेको छ । ग्राण्डले २१ लाख ८४ हजार १ सय ८६ रुपैयाँ तिरेको हो । मालपोत, सम्पत्ति र व्यवसाय कर तिरेर दोस्रो भएको महानगरले जनाएको छ । महेश बहादुर भट्टराईले ११ लाख १४ हजार १ सय ३६ रुपैयाँ मालपोत र सम्पत्ति कर तिरेर तेस्रो भएका छन् ।

सोही समारोहमा नियमित कर तिर्ने धिरज अर्याल, रामबाबु घिमिरे र राधा तिमिल्सिनालाई सम्मान गरिएको थियो । उनीहरुलाइ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरका प्रमुख धनराज आचार्य लगायतले सम्मान गरेका थिए । महानगरको स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ ।



Tags: ,