स्याङ्जाको कफी जापानदेखि अमेरिकासम्म निर्यात

-


     क्लिक गण्डकी     
     मंसिर १८ गते २०८२ मा प्रकाशित


स्याङ्जाको कफी जापानदेखि अमेरिकासम्म निर्यात

स्याङ्जाको कफी जापानदेखि अमेरिकासम्म निर्यात

स्याङ्जा, १७ मंसिर/ नेपालमा कृषि पेशाबाट राम्रो आम्दानी गर्नु त परको कुरा, जिविकोपार्जन समेत चल्दैन् । कृषिजन्य उत्पादन बढाउन वर्षेनी समयमै मल नपाईने । समयमै मल पाईयो उत्पादन राम्रो छ, भित्र्याउने बेला बाँदर आतंक र प्राकृतिक विपत्ती । कदमकदाचित उत्पादन भए बजार अभाव । पछिल्लो समय कृषि क्षेत्रमा देखिएका यी र यस्तै समस्याहरु बढ्दै जादा चुनौती थपिदै गएका छन् ।

यावत् समस्या र चुनौतिकाबीच स्याङ्जामा उत्पादित कफी जापान, कोरिया र अमेरिका निर्यात हुँदै आएको छ । जिल्लामा उत्पादित कफी स्वादिष्ट र गुणस्तर भएपछि बिदेश निर्यात हुँदै आएको हो । विगतका वर्षहरुमा जापान, कोरिया र अमेरिका निर्यात हुँदै आएको स्याङ्जाली कफीको पछिल्लो समय अष्टे«लियामा समेत माग गरिएको छ ।

लामो समयदेखि कफी निर्यात व्यवसाय गर्दै आएका अगुवा कृषक बोधराज अर्यालले जिल्लामा उत्पादित कफीको ठूलो हिस्सा जापान निर्यात भएको बताए । वार्षिक रुपमा सबै भन्दा बढि ८ टनदेखि १० टनसम्म जापान निर्यात हुँदै आएको छ भने ५ टनदेखि ८ टनसम्म अमेरिका र तीनदेखि ५ टन कोरिया कफी निर्यात हुँदै आएको अर्यालले जनाए । उत्पादन बढाउन सके जापान, अमेरिका र कोरिया थप निर्यात गर्न सकिने बताएका कृषक अर्यालले उत्पादनले थेगेमा र बढाउन सके कम्तीमा दुई टन अष्टे«लिया निर्यात गर्न सकिन्छ, स्याङ्जाली कफीको माग बढ्दै गएको सुनाए ।

जिल्लाका चार हजार बढि कृषकले वार्षिक २ लाख किलो फ्रेसचेरी (रातो दाना) कफी उत्पादन गरेका छन् । अघिल्लो वर्ष एक लाख ८० हजार किलो उत्पादन भएको कफी पछिल्लो वर्ष २ लाख किलो पुगेको हो । संकलन १२ र ढुवानी तीन रुपैयाँ सहित प्रतिकिलो १२५ रुपैयाँमा फ्रेसचेरी बिक्रीबाट कृषकले वर्षमा झण्डै दुई करोड २० लाख नगद आम्दानी गर्न सफल भएका छन् ।

उत्पादन भएको दुई लाख किलो फ्रेसचेरीको झण्डै ४० हजार किलो पार्चमेन्ट (ब्रोक्रा छोडाएको) तयार हुन्छ । पार्चमेन्टमध्ये झण्डै ९० प्रतिशत ग्रिनविन्स (खोस्टा फालेको) अवस्थाको कफी उत्पादन गर्न सकिन्छ । बिक्रीको लागि पूर्ण रुपमा तयार भएको ग्रिनविन्समध्ये ९० प्रतिशत प्रतिस्पर्धात्मक बजारमा खपत र विदेश निर्यात हुँदै आएको छ भने १० प्रतिशत आन्तरिक बजारमा बिक्री वितरण हुँदै आएको जिल्ला कफी व्यवसायी संघ स्याङ्जाले जनाएको छ ।

उत्पादित कफीको बजार सुनिश्चित र राम्रो मुल्य पाउदै आएका कृषकको कफी खेतीप्रति आकर्षण बढ्दै गएको संघका व्यवस्थापक माया तिवारीले बताईन् । कृषकको आकर्षण बढेसँगै कफी लगाउने जमिनको क्षेत्रफल र उत्पादनमा प्रत्येक वर्ष वृद्धि हुँदै गएको संघसँग तथ्याङ्क छ । कफी लगाउने जमिनको क्षेत्रफल र कृषक बढेपनि माग अनुसारको कफी उत्पादन नभएको उनले बताईन् । जिल्लामा तीन सय रोपनी क्षेत्रफलमा कफी खेती गरिदै आएको संघको तथ्याङ्कमा छ ।

आर्थिक वर्ष २०८१/०८२ मा दुई सय ८० रोपनी क्षेत्रफलमा एक लाख ८५ हजार किलोग्राम कफी उत्पादन भएको थियो । चालु आर्थिक वर्ष २०८२/०८३ स्याङ्जामा कफी खेती गर्ने क्षेत्रफल बढेर तीन सय रोपनी पुगेको छ भने उत्पादन वृद्धि भई दुई लाख किलोग्राम कफी उत्पादन हुने भएको संघका व्यवस्थापक तिवारीले जानकारी दिईन् ।

३० कृषक बराबर एक समूह बनाएर जिल्ला कफी व्यवसायी संघमा ६० समूह आबद्ध छन् । थोरैमा ६० जना कृषकको सहभागितामा एक सहकारी अन्र्तगत जिल्लामा १२ सहकारीमार्फत वार्षिक रुपमा कफी उत्पादन हुँदै आएको छन् । जिल्लाका ११ पालिकामध्ये हरिनास, चापाकोट र कालीगण्डकीमा संस्थागत रुपमा कफी उत्पादन भएको तथ्याङ्क नभएपनि अन्य पालिकामा भने समूह र सहकारी मार्फत कफी उत्पादन हुँदै आएको छ ।

स्याङ्जामा २०५५ सालदेखि व्यावसायिक रुपमा कफी खेती गरिदै आएको छ । भिरालो पाखोबारी र वनजंगलभित्र कफी राम्रो उत्पादन हुन्छ । उत्तरतर्फ फर्किएको भूबनोटको जमिनमा रोपण गरेको तीनदेखि चार वर्षबाट उत्पादन लिन सकिने बिरुवाले झण्डै १२ देखि १४ वर्षसम्म उत्पादन दिने गरेको जिल्लाका अगुवा कफी उत्पादक कृषक फणीनारयाण अर्यालले बताए ।



Tags: