पोखरा २३ धान उत्पादनमा उत्कृष्ट, दुई कृषकले जिते पुरस्कार

-


     क्लिक गण्डकी     
     मंसिर १४ गते २०८२ मा प्रकाशित


पोखरा २३ धान उत्पादनमा उत्कृष्ट, दुई कृषकले जिते पुरस्कार

पोखरा २३ धान उत्पादनमा उत्कृष्ट, दुई कृषकले जिते पुरस्कार

पोखरा, १३ मंसिर/ पोखरा २३ धान उत्पादनमा उत्कृष्ट भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १९ चुरुङ्गामा भएको दाँई महोत्सवमा पोखरा २३ का दुई कृषक र पोखरा १३ का एक जना कृषक सम्मानित भए ।

पोखरा महानगर क्षेत्रमा ५०० मुरी, १०० मुरी र ९८ मुरी धान उत्पादन गर्ने उत्कृष्ट कृषकहरूलाई नगर प्रमुख धनराज आचार्यले नगद सहित सम्मानित गरे ।

यस वर्ष ५ सय मुरी धान उत्पादन गर्ने कृषक पोखरा २३ का फवेन्द्र प्रसाद गुरुङलाई नगद १० हजार, १ सय मुरी धान उत्पादन गर्ने पोखरा १३ का मिलन गुरुङलाई नगद ७ हजार र ९८ मुरी धान उत्पादन गर्ने पोखरा २३ का कृषक बालकृष्ण भण्डारीलाई नगद ५ हजार सहित सम्मान गरे ।

यसले कृषकहरूलाई उत्पादन बढाउन, कृषिको व्यवसायीकरण, गोरु पालक कृषकहरूलाई प्रोत्साहन र उत्प्रेरणा मिल्ने मेयर आचार्यल बताए ।

यस्तै गोरु पालक कृषक जीवन बास्तोलालाई नगद ६ हजार, धान चुट्ने प्रतियोगितामा प्रथम भएका कृषक श्याम भुजेल, द्धितिय जीवनाथ सुवेदी, तृतीय विष्णु प्रसाद पौडेललाई क्रमशः नगद ३ हजार, २ हजार र १ हजार प्रदान गरिएको छ ।

परालको भारी बाँध्ने प्रतियोगिताका विजेताहरू अग्निधर गौतम र भीम विक, नवीन र अभिषेक बास्तोला तथा कुल बहादुर भुजेल र तारानाथ गौतमलाई क्रमशः नगद रु।३ हजार, २ हजार र १ हजार प्रदान गरिएको छ ।

यस्तै गुन्द्री बुन्ने प्रतियोगिताका विजेताहरू लक्ष्मी देवकोटा र लक्ष्मी बास्तोला, सिता गौतम र विष्णु गौतम तथा लक्ष्मी अधिकारी र अञ्जना अधिकारीको जोडीलाई पनि क्रमशः नगद रु।३ हजार, २ हजार र १ हजार प्रदान गरिएको छ ।

पोखरा महानगरपालिकाले पोखराको पहिचानको रूपमा रहेको जेठोबुढो लगायत धानहरूको ब्राण्डीङ गरिरहेको छ भने, रैथाने जातका धानहरूको संरक्षणका लागि कृषकहरूलाई मल, बिउमा अनुदान दिदैँआइरहेको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए ।

महोत्सव पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को आयोजना तथा चुरुङ्गा टोल विकास संस्थाको स्थानीय व्यवस्थापन सम्पन्न गरिएको हो ।