
कोदो खेतीतर्फ कृषकको आकर्षण बढ्यो
स्याङ्जा, २८ कात्तिक/ बेमौसमी वर्षाबाट पीडित बनेका स्याङजाका कृषकहरू कोदो भित्र्याउन ब्यस्त छन् । एक हप्तासम्म निरन्तर परेको वर्षा रोकिएर पछिल्लो हप्ता मौसम खुलेपछि ग्रामिण भेगका कृषकहरु कोदो (बाला) टिप्न, ठटाउन (चुट्न) र सुरक्षित बनाएर घर भित्र्याउन ब्यस्त भएका हुन् ।
जिल्लाको मुख्य अन्नबालीका रुपमा लिइएको कोदो खेती गर्ने कृषकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । पछिल्लो समय कोदोको माग बढेसँगै कृषकहरु कोदो खेतीमा आकर्षित समेत भएका छन् । सिँचाइको अभाब भएका जग्गामा कोदो खेती हुँदै आएको छ भने बाँझो छोडिएका अधिकांश सुख्खा खेतबारीमा समेत कोदोको खेती लगाउने गरेको स्थानीय कृषककले बताए ।
कोदो खेती गर्नेको संख्या बढ्नुका साथै उत्पादन राम्रो भएको जिल्लाका कृषकले बताएका छन् । गत वर्ष जिल्लामा ५ हजार ५८३ हेक्टर क्षेत्रफलमा झण्डै ८ हजार मेट्रिकटन कोदो उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्र स्याङ्जाले जनाएको छ । जिल्लामा कोदो खेती गर्ने क्षेत्रफलसँगै कृषकको संख्या दुबैमा वृद्धि भएपछि कोदो उत्पादनमा ५ प्रतिशत भन्दा बढि वृद्धि हुने केन्द्रका सूचना अधिकारी कृषि अधिकृत विकास वि.क.ले बताए ।
समयानुकूल प्रविधिको प्रयोग, समयमै वर्षा भएकाले कोदो खेतीलाई फाइदा पुगेको अधिकृत वि.क.को भनाइ छ । कोदो खेती प्रवर्धन र उत्पादन वृद्धि गर्ने योजनामा जिल्लाका अधिकांश पालिकाले कृषकलाई प्रत्यक्ष सहयोग गर्दै आएका छन् । पालिकाले प्रविधि सहयोगसँगै उन्नत र रैथाने जातका बीउ वितरण गर्दै आएका छन् ।
वालिङ नगरपालिकास्थित वालिङ प्रोडोक्ट होल्डिङ्ग बहुउद्देश्यीय सहकारी संस्थाले कोदो खेती, उत्पादन संरक्षण र बजारीकरणको लागि काम गर्दै आएको अध्यक्ष याम गुरुङले जानकारी दिए । ‘परम्परागत रुपमा गरिँदै आएको कोदो खेतीको संरक्षण र बजारीकरणमा हामीले काम गर्दै आएको छौं ।’ अध्यक्ष गुरुङ्ले भने, स्थानीय कृषकसँग हातेमालो गर्दै संस्थाले बीउ संरक्षणको भूमिका निर्वाह गरेको छ । कोदो खेतीका लागि उर्वर मानिएका पालिकाहरुमा पकेट क्षेत्र बनाएर काम गर्दै आएको उनले सुनाए ।
परम्परागत बालीलाई आधुनिक प्रविधिसँग जोड्दै आत्मनिर्भर कृषि प्रणालीतर्फ कृषकहरुलाई अग्रसर गराउन सके स्याङजाका कृषकले कोदो खेतीबाट राम्रो आम्दानी लिन सक्नेमा स्थानीय कृषक विश्वस्त छन् । कोदो खेतीलाई प्रवर्धन गर्न फेदीखोला गाउँपालिकाले विद्यालयदेखि सरकारी कार्यालयसम्म दिवा खाजाको रुपमा कोदोको परिकार अनिवार्य गरेको छ ।
पालिकाले हप्ताको दुई दिन विद्यालय पोषण कार्यक्रम अन्तर्गत कोदो दिवा खाजा अनिवार्य गर्दै स्थानीय संस्थाहरूमा कोदाकोे परिकारलाई प्राथमिकता दिने र प्रयोग गर्ने नीति बनाएको छ । स्थानीय उत्पादनको प्रवर्धन, विद्यार्थीहरूको पोषण सुधार, कृषकहरूको आम्दानी अभिवृद्धि तथा सामुदायिक स्वाभिमानमा टेवा पु¥याउने योजना बनाएर कोदो प्रवर्धन कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जनाए ।
गाउँपालिका अन्र्तगतका विद्यालय र सरकारी निकायमा हप्तामा कम्तीमा दुई दिन कोदोबाट बनेका परिकारहरू ढिँडो, मम, तावा रोटी, पुवा, सेलरोटी कोदोको चिउरा र हलुवा अनिवार्य दिवा खाजाका रूपमा उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष सुवेदीले बताए । २०८२ साउनमा पहिलो पटक कोदो दिवस नै मनाएपछि कोदो उत्पादक कृषकहरु उत्साहित भएको सुबेदीले सुनाए ।





