
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकैदिन मुटुको सातवटा एन्जियोप्लाष्टी
पोखरा, १ जेठ/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले मुटु रोग उपचारको क्षेत्रमा महत्ववपूर्ण उपलब्धि हासिल गरेको छ । अस्पतालको मुटु रोग विभागले एकैदिन सात जना बिरामीको सफल ’एन्जियोप्लाष्टी’ गरि नयाँ रेकर्ड कायम गरेको छ ।
यस जटिल उपचार प्रक्रियाको क्रममा एक विशेष र दुर्लभ संयोग समेत देखिएको थियो । एकै परिवारका आमा र छोरा, जसलाई एकै समयमा हृदयघात (हार्ट अट्याक) भएको थियो ।
उनीहरूको पनि सोही दिन सफलतापूर्वक एन्जियोप्लाष्टी सम्पन्न भएको छ । गम्भीर अवस्थामा अस्पताल पुगेका आमा–छोरा दुवैको सफल उपचारपछि उनीहरूको जीवन रक्षा भएको अस्पतालले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ।
स्वास्थ्य सेवामा अत्यन्तै संवेदनशील र जटिल मानिने मुटुको शल्यक्रिया (क्याथल्याब सेवा) मार्फत एकैदिन यति धेरै बिरामीको उपचार हुनुलाई पोखराको स्वास्थ्य क्षेत्रमा ठूलो सफलता भएको बताएको छ ।
मानव जीवन रक्षाको यस चुनौतीपूर्ण कार्यमा अहोरात्र खटिएका मुटुरोग विशेषज्ञ चिकित्सकहरू, नर्सिङ स्टाफ तथा क्याथल्याब टिमको योगदानलाई अस्पताल प्रशासनले धन्यवाद समेत दिएको छ ।





