कास्कीमा प्रहरीको स्विप अपरेसन जारी, थप २३ जना पक्राउ

-


     क्लिक गण्डकी     
     वैशाख २९ गते २०८३ मा प्रकाशित


जिल्ला प्रहरी कार्यालय कास्की

जिल्ला प्रहरी कार्यालय कास्की

पोखरा, २९ बैशाख/ जिल्ला प्रहरी कार्यालय कास्की एबम पोखराको बगरस्थित वडा प्रहरी कार्यालयको टोलीले सोमबार साँझ ६ बजेदेखि राति १० बजेसम्म संचालन गरेको स्विप अपरेसनका क्रममा पोखराको बिभिन्न स्थानबाट २३ जनालाई पक्राउ गरेको छ ।

विभिन्न स्थानहरुमा मादक पदार्थ एबम लागू पदार्थ सेवन गरी हो–हल्ला गर्ने, झै झगडा गर्दै हिड्ने, जुवातास खेल्ने खेलाउने तथा शान्ति सुरक्षामा खलल पु¥याउने गतिविधि बढेको भन्दै प्रहरी टोलीले ‘स्वीप अप्रेसन’ लाई निरन्तरता दिएको हो ।

यस क्रममा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, लागू औषध (गाँजा) सेवन गर्ने तथा जुवाजन्य तिन गोट्टी खेलाउने जस्ता गतिविधिमा संलग्न २३ जनालाई नियन्त्रणमा लिएर आबश्यक कानुनी कारबाही अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमध्ये पोखरा महानगरपालिकाको बगर, टुँडिखेल, बाग्लुङ बसपार्क, नदिपुर र तेर्सापट्टीबाट ७ जना, पोखरा महानगरपालिकाको प्रस्यांग र हरिचोकबाट ५ जना, पोखराको बाटुलेचौर, सराङकोट र लामाचौरबाट ११ जना रहेको छन् ।

यसैगरी ३ जना जुवाजन्य तिन गोट्टी खेलाउने व्यक्तिहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने कसूरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीका सुचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।

७ जनाले मादक पदार्थ र लागु औषध सेवन गरि हो–हल्ला गर्दै हिंडेको र झैझगडा गरेको भन्दै अभद्र व्यवहार सम्बन्धी कसूरमा दस दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको छ ।

मादक पदार्थ सेवन गरि हिंडेका ७ जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट जनही एक हजार रुपैयाको दरले जरिवाना गरि छाडिएको र बाँकी ६ जनालाई उनीहरुको आँफन्तको जिम्मा लगाएर तारिखमा छोडिएको प्रहरीले जनाएको छ । यस अगाडी कास्की विभिन्न ठाउँबाट करिब २ सय जनालाई पक्राउ गरेको थियो ।