फेदीखोलाका विद्यालयमा हप्तामा २ दिन खाजामा कोदोको परिकार

-


     क्लिक गण्डकी     
     श्रावण १७ गते २०८२ मा प्रकाशित


कोदो

कोदो

स्याङ्जा, १६ साउन/ स्याङ्जाको फेदीखोला गाउँपालिकाले विद्यालय पोषण कार्यक्रममा हप्ताको २ दिन कोदोबाट बनेको परिकार खुवाउन अनिवार्य गरेको छ । गाउँपालिकाको चमेना गृहमा पनि साताको १ दिन कोदोको परिकार खुवाउनु पर्ने व्यवस्थालाई अनिवार्य गरेको छ ।

गाउँपालिकाले कोदो उत्पादन, प्रवद्र्धन र उपयोगमा प्राथमिकता दिँदै गाउँपालिकाका विद्यालय, वडा कार्यालय, चमेना गृह, सभा–सेमिनार स्थलहरूमा कोदोबाट बनेका परिकारहरूलाई प्राथमिकता दिई अनिवार्य रूपमा प्रयोग गर्ने निर्णय गरेको छ । चमेना गृहले भने साताको १ दिन कोदोको परिकार खुवाउनु पर्ने भएको छ ।

बहुउपयोगी, पोषणयुक्त र स्थानीय खाद्यान्न कोदोको प्रवद्र्धन र संरक्षण गर्नुका साथै स्वस्थ्यकर जीवन जिउने उद्देश्यले कोदोको खाजाको व्यवस्था गरेको गाउँपालिकाले जनाएको छ । विद्यालय पोषण कार्यक्रम अन्तर्गत गाउँपालिकाका सबै विद्यालयमा हप्तामा २ दिन कोदोबाट बनेका परिकार (ढिँडो, मःम, तावा रोटी, पुवा, सेलरोटी, कोदोको चिउरा, हलुवा) लगायतका दिवा खाजा उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।

आज साउन १६ गते पर्ने राष्ट्रिय कोदो दिवसदेखि निर्णयलाई कार्यान्वयनमा लगिने अध्यक्ष सुवेदीले बताए । सरकारले प्रथम राष्ट्रिय कोदो दिवस आजकै दिन मनाउने निर्णय गरेको छ । गाउँपालिकाले यसअघि नै कक्षा ६ को स्थानीय पाठ्यक्रममा ‘हाम्रो फेदीखोला’ अन्तर्गत ‘कोदोः बहुपयोगी खाद्यान्न’ शीर्षकको पाठ २०७७ सालदेखि समाबेश गरेको छ ।

कोदोको प्रवद्र्धन

कोदो उत्पादनमा जोड दिन र प्रवद्र्धन गर्न पालिकाले आज फेदीखोला गाउँपालिका १, रामकोटमा ‘कोदो रोपाइँ’ आयोजना गरेको छ । रोपाइँमा कोदोबाट निर्मित परिकारको प्रदर्शनी, यसको महत्व र बहुउपयोगका बारेमा जानकारी दिईने उद्देश्य रहेको उपाध्यक्ष देउकुमारी गुरुङले बताइन् ।

कोदोमा सबै प्रकारका पौष्टिक तत्व पाइने भएकाले पछिल्लो समय कोदोबाट बनेको परिकार खानेको संख्यामा बृद्धि हुँदै गएको छ । फेदीखोलाले कोदोको प्रवद्र्धन मात्र नभई स्थानीयपन, स्वास्थ्य र आत्मनिर्भरताको सन्देश दिने प्रयास गरेको उपाध्यक्ष गुरुङ्ले जानकारी दिईन् ।