
स्याङ्जामा ८५ प्रतिशत धान रोपाइँ
स्याङ्जा, १४ साउन/ स्याङ्जामा हालसम्म ८५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । धान रोपाइँ हुने कुल १४ हजार ३९० क्षेत्रफलको ८५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र स्याङ्जाले जनाएको छ । जिल्लाको उत्तरी भेगमा धान रोपाइँ सकिनै लाग्दा दक्षिण भेगमा रोपाइँ बाँकी नै छ ।
जिल्लाका ११ पालिका मध्ये फेदीखोला र अर्जुनचौपारीमा ९८, आँधीखोला गाउँपालिकामा ९७, पुतलीबजार नगरपालिकामा ९५, भीरकोट नगरपालिका र हरिनास गाउँपालिकामा ८५ प्रतिशत रोपाइँ सकिएको छ । वालिङ, गल्याङ नगरपालिका र बिरुवा गाउँपालिकामा ८०÷८० र कालिगण्डकी गाउँपालिकामा ७५ प्रतिशत रोपाइँ सकिएको केन्द्रले जनाएको छ । सबैभन्दा कम चापाकोटमा ७० प्रतिशत रोपाइँ सकिएको छ ।
यस वर्षको साउन मध्यसम्ममा पर्याप्त वर्षा नहुँदा गत वर्षको तुलनामा कम प्रतिशत रोपाइँ भएको छ । मुल फुट्ने गरी वर्षा नहुँदा आकाशे पानीको भरमा रोपाइँ गर्दै आएकाहरु बढि प्रभावित भएका छन् । चापाकोट, गल्याङ, वालिङ, कालीगण्डकी जिल्लाको दक्षिण भेगमा अझै रोपाइँ जारी रहेको केन्द्रले जानकारी दिएको छ ।
यस वर्ष सरदर ९० प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ । चापाकोट क्षेत्र, गल्याङ्को जिमूहा, भीरकोटको पकान, डौंवा, पुतलीबजारको लामागे, ठुलिबेशी तथा आँधीखोला, ज्याग्दीखोला र दरौंखोला आसपासका क्षेत्र जिल्लाको धानखेती पकेट क्षेत्र हुन् ।
पछिल्लो समय उन्नत जातका धानहरु लगाउने प्रचलन बढ्दै गएको छ । कृषकले विशेषगरी रामधान, साबित्री, सुनौलो सुगन्ध, सामा मन्सुली सव १ जस्ता उन्नत जातका धान लगाउने गरेका छन् । हाईब्रिड तर्फ युएस ३१२, च्याम्पियन लगायतका धानहरु लगाउने गरेका छन् । जिल्लामा रोपाइँ हुने क्षेत्रफल क्रमशः घट्दै गएको छ ।
पछिल्लो समय जिल्लाका समथर र खेतीयोग्य जमिनमा बढ्दो बजारीकरणसँगै सडक तथा घर घडेरी बनाउने क्रमले उर्बर भूमि नासिदै गएको छ । तथ्याङ्क अनुसार १६ हजार बढि हेक्टर खेतीयोग्य जमिनमा करिब ४ वर्षको अन्तरालमै झण्डै २ हजार हेक्टर जमिन नासिएको छ ।





