
पोखरा महानगरपालिकाको बजेट ८ अर्ब ३५ करोड
पोखरा ८, असार/ पोखरा महानगरपालिकाले आर्थिक बर्ष २०८२/०८३ को लागि ८ अर्व ३५ करोड रुपैयाको बजेट प्रस्तुत गरेको छ । पोखरा महानगरपालिकाको १७ औं नगरसभामा आर्थिक बर्ष २०८२/०८३ बजेट प्रस्तुत गर्दै पोखराका उपमेयर मन्जुदेवि गुरुङले बजेट सार्वजनिक गरिन् ।
बजेटको खर्च केन्द्रगत रुपमा नगर कार्यपालिकाको कार्यालय तर्फ ५५ करोड अर्थात १८.१५ प्रतिशत, सामाजिक विकास तर्फ ३८ करोड अर्थात ७.२८ प्रतिशत, आर्थिक विकास तर्फ १८ करोड अर्थात ३.४५ प्रतिशत, वडा कार्यालय तर्फ १ अर्व अर्थात १५.१६ प्रतिशत, पूर्वाधार तर्फ २ अर्व ३३ करोड अर्थात ४४.६४ प्रतिशत, शहरी विकास पर्यटन वन तथा वातावरण तर्फ ३८ करोड अर्थात ७.२८ प्रतिशत बजेट प्रस्ताव गरिएको छ ।
सघिय सरकारको अनुदानबाट ३ अर्व १ करोड ८१ लाख अर्थात ३६.१३ प्रतिशत र आन्तरिक आयबाट ५ अर्व २३ करोड ३१ लाख अर्थात ६३.८७ प्रतिशत आम्दानी गर्न लक्ष्य छ ।
आन्तरिक राजश्व परिचालन तर्फ कर क्षेत्रको अंश ३ अर्व २३ करोड ७२ लाख २७ हजार अर्थात ६१.८६ प्रतिशत रहेको उपमेयर गुरुङले प्रस्तुत गरेको बजेटमा उल्लेख छ । त्यसै गरी स्थानीय राजश्व बाँडफाँडबाट १ अर्व करोड १९ लाख १४ हजार अर्थात १९.३३ प्रतिशत, प्रदेश राजश्व बाँडफाँडबाट ४ करोड २८ लाख ७२ हजार अर्थात ०.८० प्रतिशत, संघिय राजश्व बाँडफाँडबाट ३३ करोड ८ लाख ४० हजार अर्थात ६.३२ प्रतिशत, सघिय अनुदानबाट ५२ करोड ८७ लाख अर्थात १०.१० प्रतिशत, प्रदेश अनुदानबाट ८ करोड १५ लाख ४६ हजार अर्थात १.५५ प्रतिशत व्यहोरिने भएको छ ।
चालु आर्थिक बर्षमा ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजारको बजेट विनियोजन भए पनि जेठ मसान्तरसम्म ४ अर्ब १६ करोड ५२ लाख ६४ हजार अर्थात ५५.४३ प्रतिशत खर्च भएको उपमेयर गुरुङले बताइन् । यस अघि पोखराका मेयर धनराज आचार्यले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यक्रममा कृषि, पर्यटन, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायतका बिषयमा प्रथामिकता दिएको छ ।





