
पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य
पोखरा, २५ माघ/ पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोह आगामी फाल्गुन पहिलो साता हुने भएको छ ।
पर्यटन राजधानी पोखरामा करिब २० लाख स्वदेशी तथा विदेशी पर्यटकहरू भित्राउने लक्ष्यका साथ शुभारम्भ गर्न लागिएको पोखरा भ्रमण वर्षको औपचारिक घोषणा समारोह फाल्गुन ३ गते शनिवार पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा गर्न लागिएको हो ।
घोषणा समारोहको तयारीका लागि नगर प्रमुख आचार्यको संयोजकत्वमा १ हजार ५० सदस्यीय मुलआयोजक समिति, आचार्य कै नेतृत्वमा एक निर्देशक समिति र पर्यटन क्षेत्रको प्रतिनिधित्वमा कार्यसम्पादन समिति सहित ४३ वटा उपसमितिहरू गठन गरिएका छन् ।
यी समिति तथा उपसमितिहरूमा पोखरा महानगर क्षेत्रमा क्रियाशील सरकारी र गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिहरू, चार वटै सुरक्षा निकाय, उद्योगी व्यवसायी, सूचना तथा सञ्चार क्षेत्र, राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय टोल विकास संस्थाहरू, अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरू लगायतको प्रतिनिधित्व रहेको छ ।
भ्रमण वर्षका अवसरमा विदेशमा पोखराको प्रवर्द्धन गर्ने गरी सद्भावना दूतहरू समेत घोषणा गर्ने तयारी गरिएको छ । वर्ष भरी पोखराको पर्यटन प्रवर्द्धनात्मक गतिविधिहरू सञ्चालन गरिने छन् ।
पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त पहलमा महानगरका ३३ वटै वडाहरूबाट स्थानीय भेषभुषा सहित वृहद झाँकी र्याली निकालिने छ । पोखरा भ्रमण वर्षको औपचारिक घोषणा नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्नुहुनेछ ।