फिरन्ते टोली मोटरसाइकलमा फेवाताल देखि रारा यात्रामा

-


     क्लिक गण्डकी     
     कार्तिक २२ गते २०८१ मा प्रकाशित


फिरन्ते टोली मोटरसाइकलमा फेवाताल देखि रारा यात्रामा

फिरन्ते टोली मोटरसाइकलमा फेवाताल देखि रारा यात्रामा

पोखरा, २१ कात्तिक/ पोखराको फिरन्ते टोली मोटरसाइकल र स्कुटरमा पोखराको फेवाताल देखि रारा ताल सम्मको यात्रामा निस्केको छ । यात्रामा ज्येष्ठ नागरिक पोखरा ७ नुवारथोकका ६८ वर्षीय कृष्ण प्रसाद बराल देखि युवा ४२ वर्षका मनोज बराल सम्म छन् ।

कृष्ण प्रसाद बराल यस अघि स्कुटरमै मेची महाकाली यात्रा गरिसकेका छन् । ५ वटा मोटरसाइकल र २ वटा स्कुटरमा १० जना फेवाताल देखि रारा ताल सम्मका यात्रामा बुधबार निस्केका हुन् । फेवा–रारा यात्रामा निस्कनु अघि पोखरा ७ का वडा अध्यक्ष राममोहन आचार्यले यात्रामा सहभागी टोलीलाई सफल यात्राको शुभकामना दिँदै विदाई गरे ।

फेवा देखि रारा ताल सम्मको यात्राका क्रममा पोखराको पर्यटन प्रवर्धन हुने गरी सन्देश दिइने यात्रामा सहभागी ठाकुर प्रसाद बरालले बताए । रारा ताल देशकै पहिलो ठूलो ताल हो भने फेवा दोस्रो ठूलो ताल हो । देशकै दुई ठूला ताल पर्यटकीय दृष्टिकोणले आआफ्नो महत्त्व र आकर्षण रहेको छ । यसैले पनि पर्यटन प्रवर्धनको सन्देश यात्रामा दिइने बरालले बताए ।

फेवा देखि रारा सम्मका यात्रामा पोखरा वडा नम्बर ७ का पूर्व वडा अध्यक्ष रामचन्द्र बराल, पोखरा २१ का पूर्व वडा अध्यक्ष खगराज आचार्य, नुवारथोक टोल विकास संस्थाका अध्यक्ष दामोदर बराल, राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका अध्यक्ष ठाकुर प्रसाद बराल, नुवारथोक टोल विकास संस्थाका पूर्व अध्यक्ष सञ्जय पौडेल, दुर्गाराज बराल, शिव बराल र राजेन्द्र अधिकारी रहेका छन् ।



Tags: