
तनहुँ बस दुर्घटनाः घाइते काठमाडौं तस्बिरः कृष्ण न्यौपानेको फेसबुकबाट
पोखरा, ७ भदौ/ तनहुँको आँबुखैरेनी गाउँपालिकाको ऐनापहारा नजिकै भएको बस दुर्घटनामा २७ जना भारतीय पर्यटकको मृत्यु भएको छ ।
पोखराबाट काठमाडौंका लागि छुटेको ४३ जना सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान ऐना पहरा नजिकबाट मर्स्याङ्दीमा खसेको थियो ।
दुर्घटनामा गम्भीर घाइते १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । मृत्यु हुने सबैको शव आँबुखैरेनी गाउँपालिकामा राखिएको र पोष्टमार्टका लागि पोखरा ल्याउने प्रहरीले जानकारी दिएको छ ।
बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो । उनीहरु २ दिन पोखराको स्पोर्ट्स होटलमा बसेर काठमाडौं फर्किएका थिए । पोखरामा पोस्टमार्ट गरेर परिवारलाई शव बुझाइने भएको छ ।





