पोखरामा युवती हत्या काण्डः आइफोनको लोकेसनले पत्ता लाग्यो हत्या आरोपी

-


     क्लिक गण्डकी     
     श्रावण ४ गते २०८१ मा प्रकाशित


पोखरा युवती हत्या काण्डः आइफोनको लोकेसनले पत्ता लाग्यो हत्या आरोपी

पोखरा युवती हत्या काण्डः आइफोनको लोकेसनले पत्ता लाग्यो हत्या आरोपी

पोखरा, ४ साउन/ पोखरामा एक होटलमा युवतीको हत्या गरी फरार रहेका आरोपी आइफोनको लोकेसनमार्फत् प्रहरीले पत्ता लागेको छ ।

तनहुँको भिमाद घर भएकी ३२ वर्षीया सुकु विकलाई हत्या गरी उनले प्रयोग गरेको आइफोन र गरगहना लुटेर भागेका २९ वर्षीय सञ्जय विक आइफोनको खोजी गर्दा पक्राउ परेको कास्कीका प्रहरी प्रमुख मोहन थापाले बताए ।

सञ्जयले गत मंसिर ५ गते सुकुलाई होटलको कोठामा घाँटी थिचेर हत्या गरे फरार थिए । थापाका अनुसार सुकुले आफूलाई विवाह गर्न बारम्बार दबाब दिएकाले हत्या गर्नुपरेको बयान सञ्जयले दिएको बताए । प्रहरीले पनि आइफोन र गरगहनाका लागि हत्या भएको हुन सक्ने आशंका गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोले सुकुको आइफोन खोजतलास गर्दा महोत्तरीको बर्दीवास–७ का राजेश बुढाथोकीले प्रयोग गरेको भेटाएको थियो ।

बुढाथोकीलाई आइफोन बागलुङको गलकोट स्थायी घर भएका सञ्जय विकले ४० हजार ५ सय रुपैयाँमा बिक्री गरेका थिए । श्रीमती र छोरासहित संजय पोखराको घारीपाटनमा डेरा बस्दै आएका थिए ।

बुढाथोकीलाई आइफोन बिक्री गरेका सञ्जयको पोखराको डेराबाट प्रहरीले सुकुलाई होटल लैजाँदा लगाएको द नर्थ फेसको निलो ज्याकेट र पोको कम्पनीको मोबाइल बरामद गरेको थियो । उक्त ज्याकेट सुकुलाई लिएर होटल जाँदा सञ्जयले लगाएका थिए । उनको मोबाइलमा आइफोन बोकेको सुकुको फोटो र फोन नम्बर पनि थियो ।

हत्यापश्चात पोखराको डेरामा श्रीमती र छोरा छाडेर भारत पुगेका थिए । केही समय पहिले पोखरा आएका सञ्जय अहिले नवलपुरको गैंडाकोटमा डेरा लिएर लुकेका थिए । उनी कसैसँग सम्पर्कमा थिएनन् । प्रहरीले उनी लुकेर बसेको ठाउँ पत्ता लगाएपछि बुधबार बिहान साढे ५ बजे पक्राउ गरेको कास्की प्रहरीका डिएसपी वसन्त शर्माले बताए ।

नवलपुर प्रहरीको सहयोगमा पक्राउ गरेर उनलाई पोखरा ल्याइएको छ । यसअघि २०७२ सालमा सञ्जयविरूद्ध चोरी मुद्दा चलेको र २०७३ मा अभद्र मुद्दा चलेको पनि प्रहरीले जनाएको छ ।

कास्की प्रहरीमा गत आर्थिक वर्ष विभिन्न अपराधमा २ हजार १३४ वटा मुद्दा दर्ता भएका थिए । जसमा १ हजार ६ सय २२ वटा मुद्दा फर्छ्यौट भएका छन् भने ५ सय १२ वटा मुद्दा बाँकी छन् ।